प्रधानमन्त्री पुष्पकमल दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्नै लाग्दा मन्त्रिपरिषद् बैठकमा किचलो उत्पन्न भएको छ। यही पुस १० गते प्रधानमन्त्री दाहालले सत्ता सम्हालेको एक वर्ष पुग्न लाग्दा गत बिहीबारको मन्त्रिपरिषद् बैठकमा मन्त्रीहरू अघिल्ला बैठकहरूमा भन्दा फरक रूपमा प्रस्तुत हुँदा किचलो उत्पन्न भएको हो। यसको खास कारण प्रधानमन्त्री दाहालले बिहीबार मन्त्रिपरिषद् बैठक बस्नुअघि त्रैमासिक समीक्षा बैठकमा मन्त्रीहरूलाई सचिवकै सामु आलोचना गर्नु रहेको छ।

चालु आर्थिक वर्षको सुरुका तीन महिनामा सरकारको प्रगति सोचेभन्दा धेरै कमजोर भएपछि प्रधानमन्त्री दाहालले बिहीबार बसेको त्रैमासिक समीक्षा बैठकमा मन्त्रीहरूको आलोचना गरेका थिए। त्रैमासिक प्रगति प्रतिवेदनमै ४ प्रतिशत पनि काम अघि नबढेको र कुनै पनि परियोजनाको कार्य प्रगति सन्तोषजनक नभएपछि प्रधानमन्त्री दाहाल आफ्ना सहकर्मीहरूमाथि खनिएका थिए।

त्यतिबेला प्रधानमन्त्रीलाई मन्त्रीहरूले केही नभने पनि लगत्तै बसेको मन्त्रिपरिषद् बैठकमा उनीहरूले प्रधानमन्त्रीसामु झोक निकालेका हुन्। प्रधामन्त्री कार्यालयले तयार पारेको रिपोर्टमा सरकार असफल देखिएको छ।

मन्त्रिपरिषद् रहेका सदस्यहरू हेरफेर गर्ने चर्चा चलिरहेका बेला मन्त्रिपरिषद्को बैठकमा प्रधानमन्त्रीको आलोचना भएको हो। ‘सुरुमा प्रधामन्त्रीले मन्त्रीहरूको आलोचना गर्नुभएको थियो तर मन्त्रिपरिषद्को बैठकमा भने प्रधानमन्त्रीकै आलोचना भयो,’ बैठकमा सहभागी एक मन्त्रीले भने।

प्रधानमन्त्री दाहालसँग असहमति राख्ने मन्त्रीहरू संसदीय व्यवस्थामा नैतिक रूपले एउटै मन्त्रिपरिषद्मा रहन सक्दैनन् तर बिहीबार प्रधानमन्त्रीको आलोचना गर्ने मन्त्रीहरू एउटै पार्टीका नभएर कांग्रेस, जसपालगायत दलका थिए।

नागरिक दैनिकमा समाचार छ