
काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले संकल्प यात्राको औपचारिक कार्यक्रम सकिएपनि एमालेको संकल्प र योजना जारी नै रहेको बताएका छन् ।
झुलाघाट चिवाभञ्ज्याङ यात्रा समापनपछि उनले सामाजिक सञ्जालमार्फत संकल्प यात्राको औपचारिक कार्यक्रम सकिएपनि जनताका माझमा एमाले सधैं रहने र जनतासँगको सम्बन्धलाई गाढा बनाइराख्ने बताएका हुन् ।
उनले प्रचूर सम्भावना हुंदाहुंदै पनि मुलुकलाई विपन्न र परनिर्भर बनाइरहने कारणहरूलाई स्पष्टसँग खोजी गरिरहने र नयांस्तरमा जनतालाई सचेत र संगठित गर्दै समाधानका लागि भूमिका खेल्ने बताएका छन् । उनले भनेका छन्, ‘यात्रा अवधिमा र चिवाभन्ज्यांगमा पुगेर सम्पूर्ण एमाले नेतृत्वले यही संकल्पलाई दोहोर्याएको छ । यस यात्राको अवधिमा प्राप्त भएका विषयहरू र एमालेको संकल्पलाई हामी छिटैनै औपचारिक रूपले सार्वजनिक गर्ने छौं ।’
शान्तपूर्ण तरिकाले एमालेले मुलुक र आम जनताका भोगाई बुझ्न जनतामाझ असहिष्णुता प्रदर्शन गर्ने, अलोकतान्त्रिक र हिंसात्मक तरिका अपनाउन चाहनेहरूका रहस्यमय हरकतहरूलाई पनि एमालेले नजिकैबाट नियाल्ने अवसर पाएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्