प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज शनिबार बिहान बागमती प्रदेशको राजधानी हेटौंडा आउँदैछन् । प्रधानमन्त्री हेटौंडा उपमहानगरपालिका–९ लामसुरेधाप स्थित मानव सेवा आश्रमको केन्द्रीय कार्यलय भवन उद्घाटन गर्न हेटौंडा आउन लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकारशरण महत पनि हेटौंडा आउन लागेका आश्रमले जनाएको छ ।

कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेल, मन्त्रीहरु, स्थानीय जनप्रतिनिधिहरु, नेपाल सरकारका मुख्य सचिव र सचिवहरु, वरिष्ठ कलाकार, समाजसेवी, आश्रमका अभिभावक, शुभेच्छुक र सहयोगी पनि कार्यक्रममा आउने तय भएको आश्रमले जनाएको छ ।

बिहान ९ बजे प्रधानमन्त्रीले भवनको उद्घाटन गर्ने कार्यक्रम रहेको आश्रमले जनाएको छ ।

१२ करोड रुपैयाँ लागतमा आश्रमको भवन निर्माण भएको बताइएको छ । केही महिनाअघि मानवसेवा आश्रमले मेची महाकाली अभियान सञ्चालन गरी ३ सय २ जना सडक मानवको उद्दार गरेको थियो ।

२०६९ भदौ १३ मा स्थापना भएको मानवसेवा आश्रम हेटौंडामा २५ जना बालबालिका, ९५ जना महिला र एक सय जना पुरुष गरी २२० जना आश्रित रहेका छन् ।

मानवसेवा आश्रमका नेपालमा अन्य २४ वटा शाखा कार्यालयहरुमा एक हजार ७ सय जना आश्रित रहेका छन् ।