काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक आगामी पुस १ देखि ३ गतेसम्म काठमाडौंमा हुने भएको छ । पार्टीको नयाँ नियमावलीको मस्यौदामा आवश्यक छलफल गरी त्यसलाई पारित गर्न बैठक बोलाएको वरिष्ठ नेता राजाराम श्रेष्ठले जानकारी दिए ।

पार्टीको संरचनामा स्थानीय, प्रदेश, केन्द्र तथा क्षेत्रीय अधिकार तथा विभिन्न पद र जिम्मेवारीअनुसार नेताहरूको काम, अधिकार र कर्तव्य तोकिएको नियमावली अनुमोदन भएपछि केही नेताहरूको जिम्मेवारीसमेत हेरफेर हुने जनाइएको छ । पार्टीको एकता महाधिवेशनका क्रममा नयाँ नियमावली निर्माण गर्ने समझदारी भएको थियो ।

राष्ट्रियसभाको आसन्न निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिन अन्य दलसँग समन्वय गर्ने विषयमा बैठकमा छलफल हुने जनाएको छ । बैठकमा इलाममा हुने प्रतिनिधिसभाको उपनिर्वाचनलगायत सबै तहको उपनिर्वाचनमा पार्टीको तर्फबाट आवश्यक तयारी गर्न सुझाव सङ्कलनका विषयमा पनि छलफल हुने छ ।