राजकुमार केसी, थाहा । पालुङ जेसीज वर्ष २०२३ का अध्यक्ष एवं नेपाल जेसीज वर्ष २०२४ का लागि राष्ट्रिय उपाध्यक्ष पदका उम्मेदवार संगम कार्कीले जेसीज युवा उद्यमशिलताको लागि एक विश्वविद्यालय भएको बताए ।

उनले विधिको शासनमा विश्वास गर्ने युवाहरुबीच अनुभव आदानप्रदानसहित क्षमताको विकासमा क्रियाशिल जेसीज युवाहरुलाई सामाजिक विकासमा समेत सक्रिय गराउने संस्था भएको बताए ।

मंगलबार बुटवलमा हुने उम्मेदवार तालिममा सहभागिता जनाउने क्रममा उम्मेदवार कार्कीले जेसीजको आस्था र गरिमालाई उच्च राखेर नेपाल जेसीज र स्थानीय शाखाहरुबीचको सम्वन्धलाई सुमधुर बनाउनको लागि आफू प्रतिबद्ध भएको बताए ।

उनले विभिन्न तालिमहरुको आयोजना गरी युवाहरुको व्यक्तित्व विकासका साथै नेतृत्व क्षमताको विकास र युवा सक्रियतालाई अगाडि बढाउन नेपाल जेसीज क्रियाशिल रहेको अवस्थामा २० वर्ष पछि पालुङ जेसीजलाई राष्ट्रिय पदाधिकारी प्राप्त गराउनको लागि आफ्नो राष्ट्रिय उपाध्यक्ष पदमा उम्मेदवारी रहेको बताए ।

थाहा नगरपालिका वडा नं. ३ मा २०४२ सालमा जन्मेका कार्कीले अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तर उत्तीर्ण गरेका छन् । सामाजिक कार्यमा सक्रिय कार्की नेपाल रेडक्रस सोसाईटी दामन उपशाखा कार्यसमिति सदस्य, हिमालयण ईङ्लिस सेकेन्डरी स्कूल थाहा ४ को विद्यालय संयोजक, न्यु भिजन एकेडेमी थाहा ३ को संस्थापक, जनकल्याण माध्यमिक विद्यालय थाहा ३ को मानविकी संकाय संयोजक छन् ।

कार्की जमर्को समूह थाहा नगरपालिकाको अध्यक्ष, एन्टिक नेपाल प्रालिका प्रवन्धक, जनशक्ति कृषक सहकारी संस्था लि।थाहा–३ का लेखा सुपरिवेक्षण समितिका सदस्य, कृष्णतारा कृषि तथा पशुपंक्षी फर्मका सञ्चालक, उच्च माध्यमिक शिक्षक संगठनका थाहानगर अध्यक्ष, प्याब्सन थाहानगरका सचिवको जिम्मेवारीमा समेत छन् ।

पालुङ जेसीजको तर्फबाट वर्ष २००३मा राष्ट्रिय उपाध्यक्ष पदमा पुरुषोत्तम कार्की भएदेखि हालसम्म कोहिपनि राष्ट्रिय पदाधिकारी भएका छैनन् । संगम कार्की बुटवलमा हुने महाधिवेशनमा निर्वाचित भए पालुङ जेसीजले २० वर्षपछि राष्ट्रिय पदाधिकारी प्राप्त गर्नेछ ।

बन्धुत्वको भावनालाई आत्मसाथ गर्दै सर्वसुलभ ढंगले उद्यमशिल तालिम सञ्चालन गरी स्थानीय सीप, स्रोत र साधनको उपयोग गरी युवाहरुलाई उद्यमशील बनाई स्वदेशमै आत्मनिर्भर बनाउनको लागि जेसीज अभियानमार्फत देशभर सन्देश पुर्‍याउनको लागि राष्ट्रिय उपाध्यक्ष पदमा आफूलाई मतदान गर्नको लागि देशभरबाट नेपाल जेसीजको बुटवल महाधिवेशनमा आउनुहुने सम्पूर्ण प्रतिनिधिहरुलाई उम्मेदवार कार्कीले अनुरोध गरे ।

नेपाल जेसीजको राष्ट्रिय महाधिवेशन आगामी मंसिर २८ गते देखि पौष २ गतेसम्म बुटवलमा हुनेछ ।