काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेका छन् ।

जिल्ला अदालत काठमाडौंबाट पक्राउ पुर्जी जारी भइसकेका बेला शनिवार साँझ बालुवाटार पुगेर प्रकाण्डले प्रधानमन्त्रीसँग भेट गरेका हुन् । उनले प्रधानमन्त्रीसँग भेटेकाबारे सामाजिक सञ्जाल मार्फत जानकारी दिएका छन् । भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पुर्जी लगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

अदालतले प्रकाण्डसहित नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्दलगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको छ । २०७६ साल असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पुर्जी जारी भएको हो । पक्राउ पुर्जी जारी भएको विरोधमा नेकपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ ।