हेटौंडा । पेस्तोल र गोलीसहित पक्राउ परेका तीनजनालाई मकवानपुर प्रहरीले सार्वजनिक गरेको छ ।

पक्राउ पर्नेहरुमा हेटौंडा-९ बस्ने ३३ वर्षीय निश्चल पौडेल, सोही वडाका ३५ वर्षीय गणेश घले र ३० वर्षीय प्रितम क्षेत्री रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

उनीहरुलाई हिजो शुक्रबार साँझ हेटौंडा-१० बाट पक्राउ गरिएको मकवानपुरका प्रहरी प्रमुख एसपी सीतारम रिजालले जानकारी दिए । उनका अनुसार गत मंसिर ८ गते रातको समयमा हेटौंडा ९ स्थित सूर्यप्रसाद पौडेलको घरमा गोली प्रहार गरी उनीहरु फरार रहेका थिए ।

उनीहरुको साथबाट एक थान पेस्तोल र पेस्तोलमा लाग्ने गोली २० राउण्ड बरामद भएको प्रहरीले जनाएको छ ।

यसैगरी उनीहरुको साथबाट हतियार सफा गर्ने रड, लागु औषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ २ ग्राम ४ सय मिलिग्राम, लागु औषध तौल गर्ने डिजिटल तराजु दुई थान, मोटरसाइकल दुई थान, मोबाइल ५ थान, नगद ५० हजार रुपैयाँ र घटनामा प्रयोग भएको कपडा बरामद गरिएको प्रहरीले जनाएको छ ।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।