काठमाडौं । नेकपा एमालेको मध्य पहाडी लोकमार्ग केन्द्रित झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि संकल्प यात्रा अन्तर्गत टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश गर्दैछ ।
मंसिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोलीले आज गण्डकी प्रदेशको यात्रा सकेर बागमती प्रदेश गर्न लागेको हो ।
यात्रा टोलीले हालसम्म सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशको यात्रा सकिएको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । ‘आजको बास हामी गण्डकी प्रदेशको गोरखामा बसेका थियौँ’ उनले भने, ‘बिहानको खाना सल्यानटारमा खाएर हामी धादिङ प्रवेशसँगै बागमती प्रदेशतर्फ लाग्नेछौँ ।’
आजको बास नुवाकोटको विदुरमा हुनेछ । नुवाकोट मध्य पहाडी राजमार्गको विन्दु हो । अर्थात् कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व पर्छ भने आधा भाग पश्चिमतर्फ । ‘यात्राको दसौँ दिन हामी मध्य भागमा आइपुग्दैछौँ’, गौतमले भने, ‘अब नौ दिनमा बाँकी दुरी पार गर्दै यात्रा समापन हुनेछ ।’
आरुघाट, सामरी भन्ज्याङ, भर्याङभुरुङ आदि ठाउँमा आजका भेटघाटहरू हुने एमालेले जनाएको छ । आजको आमसभा नुवाकोटको विदुरमा हुनेछ ।
सम्बन्ध स्थानीय, सन्देश राष्ट्रिय भन्ने नारासहित एमालेले मध्य पहाडका जनतासँग साक्षात्कार, गर्ने त्यहाँको जनजीवनका विविध पाटाहरूसँग छलफल गर्ने ,विकास निर्माण र हाल भइरहेका समस्याहरूको पहिचान गरी समाधानका उपाय पहिल्याउने उद्देश्यले यात्रा आयोजना गरिएको एमालेले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्