![](https://www.khabarbreak.com/wp-content/uploads/2023/12/Ukraine.jpg)
![](https://www.khabarbreak.com/wp-content/uploads/2023/12/Ukraine.jpg)
काठमाडौं । रुसी सेनामा भर्ती भएका अर्का एक जना नेपाली युक्रेनी सेनाको कब्जामा रहेको भिडियो सार्वजनिक भएको छ । काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–६ ढकालथोक घर भएका सिद्धार्थ ढकाललाई युक्रेनी सेनाले नियन्त्रणमा लिएको हो ।
करिब २ महिना अघि रोजगारीको क्रममा रसिया पुगेका उनी रसियन फोर्समा भर्ती भएका थिए । सार्वजनिक भएको भिडियोमा उनले आफू एक्लो छोरो भएको, परिवारलाई धेरै सम्झिएको र उद्धारका लागि पहल गरिदिन पनि सरकारसँग आग्रह गरेका छन् ।
सार्वजनिक भिडियोमा ढकालले आफू रुस आएको एक महिना २० दिन मात्रै भएको बताएका छन् । ‘रेड जोनमा ५ जना नेपालीसहित २३ जनाको समूह थियो । मेरा धेरै साथीहरू मारिएका छन्,’ मंसिर १७ गते रेकर्ड गरिएको भिडियोमा ढकालले भनेका छन्, ‘नमस्ते बुबाआमा मलाई अहिलेसम्म राम्रो छ । पछि के हुन्छ थाहा छैन । नेपाल सरकारलाई जतिसक्दो चाँडो निकाल्नु भनेर यो खबर सुनाइदिनुहोला ।’
युक्रेनी सेनाले यसअघि असोज २७ मा बर्दियाका २३ वर्षीय विवेक खत्रीलाई नियन्त्रणमा लिएको भिडियो सार्वजनिक गरेको थियो । खत्री अझै रिहा भएका छैनन् । परराष्ट्र मन्त्रालयले ढकालको रिहाइका लागि युक्रेन हेर्ने जर्मनीस्थित नेपाली दूतावासलाई पत्र पठाइसकेको जनाएको छ । रुसी सेनामा भर्ना भएर युक्रेनसँगको युद्धमा होमिएका ६ जना नेपालीको निधन भइसकेको छ । ८ जना नेपाली भने युद्धस्थल छोडेर भागेको रुसी रक्षा मन्त्रालयको दाबी छ ।
प्रतिक्रिया दिनुहोस्