पर्वत । नेकपा (एमाले ले सञ्चालन गरेको ‘समृद्धिका लागि संकल्प यात्रा’ आज पर्वत आइपुग्ने भएको छ ।

बिहान बागलुङको गलकोटबाट सुरु भएको यात्रा बागलुङ सदरमुकाम हुँदै पर्वत आउन लागेको हो । संकल्प यात्रालाई लक्षित गरेर नेकपा एमाले पर्वतले कुश्मा बजारमा जनसभाको तयारी गरेको छ । जनसभामा एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत केन्द्रीय नेताले सम्बोधन गर्ने कार्यक्रम रहेको जिल्ला अध्यक्ष राजु पौडेलले बताए ।

अध्यक्ष पौडेलका अनुसार दिउँसो एक बजे ओली पर्वत र बागलुङको सिमाना मालढुंगामा आइपुग्ने र पर्वतमा स्वागत गर्ने कार्यक्रम छ । त्यसलगत्तै सदरमुकाम कुश्मा बजारमा आयोजना गरिएको आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पौडेलले बताए ।

आमसभा सकिएपछि पर्वत र कास्कीको सिमाना नयाँपुलमा पुगेर बिदाइ गरिने छ। संकल्प यात्रामा निस्किएको एमालेको टोली आज पोखरा बस्ने छ ।

पर्वतमा आयोजित आमसभाको सबैजसो तयारी पूरा भएको छ । आमसभाअघि कुश्मा बजारका चारवटा स्थानबाट जुलुस प्रदर्शन गरिने छ । फलेवास, विहादी, पैंयु र महाशिलाको बडागाउँचौरदेखि, मोदीको खरेहादेखि, जलजलाको पुरानो बजार र कुश्मा नगरपालिकाको मैत्रीचोकदेखि जुलुस निस्किने र लोकतन्त्र चोकमा पुगेर एकत्रित हुँदै बान्द्रेविडीमा आयोजित सभामा परिणत हुने भएको छ ।

जिल्लाका सातवटै गाउँपालिका र एमालेका भ्रातृ संगठनका छुट्टाछुट्टै र्‍याली, झाँकी, भजन तथा पञ्चेबाजासहितको जुलुस निकालिने र उत्कृष्ट जुलुस प्रदर्शन गर्ने समूहलाई पुरस्कार व्यवस्था समेत गरिएको जिल्ला सचिव गोविन्द पहाडीले बताए । संकल्प यात्रालाई लक्षित गरी पर्वत र बागलुङको सिमाना मालढुंगादेखि कास्की र पर्वतको सिमाना नयाँ पुलसम्म झकिझकाउ पारिएको छ ।