हेटौँडा ।
बागमती प्रदेशको राजधानी हेटौँडाबाट देशको राजधानी काठमाण्डौँ जाने ७ वटा सडकमार्ग रहेकोमा पाँचवटा छोटो मार्गको बाटोमा सुधार आउन नसकेपछि यात्रामा निस्कने यात्रुहरुले मार खेप्नुपरेको छ ।

हेटौँडाबाट काठमाण्डौँ जाने हेटौँडा–भीमफेदी–फाखेल सडक, हेटौँडा–सिन्नेरी–काठमाण्डौँ सडक, हेटौँडा–चखेल सडक तथा हेटौँडा–मार्खु–चित्लाङ–काठमाण्डौँ सडकको अवस्था जर्जर बन्दा यात्रुहरुले सास्ती बेहोर्नु परेको छ ।
चारैवटा सडकको मुख्य लाईनको रुपमा रहेको हेटौँडा–भैसे–भीमफेदी सडकखण्ड मर्मत तथा फराकिलो पार्ने काम सुरु भैसकेको लामो समय वितिसक्दा समेत निर्माण सम्पन्न नहुँदा यात्रुहरु हेटौँडाबाट २३ किलोमिटर मात्र रहेको भीमफेदी पुग्दासम्म धुलो र हिलोले दिक्क बन्ने गरेका छन् । भीमफेदीबाट करिब २० किलोमिटर सडक पिच भएको छ तर हेबीबाट फाखेल तथा सिस्नेरी लाग्दा यात्रुहरु पुनः कच्चीबाटोमा हिलो र धुलोमा यात्रा गर्नुपर्ने वाध्यता रहेको छ । फाखेल तर्फको सडक र सिस्नेरीको सडक वर्षौबाट निर्माण भैरहेको छ तर निर्माण निकै ढिला हुँदा यात्रा गर्ने यात्रुहरुलाई समस्या पर्दै आएको छ ।

कुलेखानी जलासय क्षेत्रबाट चन्द्रागिरि डाँडा हुँदै निर्माण भएको चखेल सडक र चित्लाङ सडक क्षेत्रको अवस्था पनि उस्तै रहेको छ । सडक निर्माण तथा पुनः निर्माणको काम सुस्त गतिमा हुँदा यात्रुहरु जोखिमपूर्ण यात्रा गर्नुपरेको छ । चारैवटा सडक कम्तिमा ६९ र बढिमा ९० किलोमिटरको दुरिका छन् । तर यात्रुहरुलाई साना सबारीबाट धुलोमैलो हुँदै ४ घण्टाको कष्टकर यात्रा गर्नुपरेको छ । बागमती प्रदेश सरकारले यि चारैवटा सडकको स्तरोन्तीको काम अघि बढाएको छ तर कामले गति नलिदा निकै समस्या भएको देखिन्छ । फाखेल र चखेल क्षेत्रका वासिन्दाहरु धुलाम्य सडकको कारण स्वास्थ्यमानै समस्या आउन लागेको बताउँछन् । इन्द्रसरोबर गाउँपालिका वडा नंबर ४ का ललित तामाङ भन्छन् “धुलो सडकमा उड्ने धुलोको कारण घरभित्रका कोठाहरु पनि निकै फोहोर हुने गरेको छ, विद्यालय समयमा विद्यार्थीहरु धुलाम्य बनेर स्कुल पुग्नुपर्ने वाध्यता छ, धुलोको कारण बृद्ध र वालबालिकालाई स्वास्थ्यमा समस्या उत्पन्न भैरहेको छ ।”

हेटौँडा बागमती प्रदेशको राजधानी भएपछि द्रुत गतिमा छोटा सडकमार्गको स्तरोन्नती हुने ठानेका स्थानीयहरु निराश बनेका छन् । सडक मर्मतको नाउँमा महिनौँसम्म सडकमा बालुवा थुपार्ने काम मात्र भएको भन्दै उनिहरुले सरकारको ढिलासुस्तीले ठुलो समस्या निम्त्याएको बताउँछन् ।
सरकारले १० औँ करोड रुपैँया विनियोजन गर्नुपर्ने सडकलाई १–२ करोड पनि नदिएर समस्या निम्त्याएको थाहा नगरपालिकाका मेयर विष्णु विष्टले बताए । उनले भने ‘हामीले चित्लाङ सडक निर्माणको लागि एक वर्षमा कम्तिमा १० करोड लाग्ने केन्द्र र प्रदेश सरकारलाई जानकारी गराएका थियौँ तर सरकारले १ करोड, २ करोड मात्र दिएर कनिका छर्ने मात्र काम गरेको छ, यसैको कारण यहाँका स्थानीयहरुलाई ठुलो समस्या भएको छ ।’

हेटौँडाबाट काठमाण्डौैँ प्रवेश गर्ने कान्तिलोकपथ क्षेत्रको हालत पहिले भन्दा केहि सुधार भएपनि मकवानपुरको सिमात क्षेत्र र ललितपुरको भट्टेडाँडा क्षेत्रको हालत जर्जर छ । समान्य पानी पर्दा सबारी सञ्चालन गर्न नसकिने अवस्थामा पुग्ने कान्तिलोकपथलाई प्राथमिकतामा पार्न नसकिएको स्थानीयहरुको गुनासो छ । भीमफेदी क्षेत्रको भन्दा फराकिलो कान्तिलोकपथ सडकलाई सरकारले प्राथमिकता दिन सके ५ मध्य एउटा सडक भरपर्दो हुने उनिहरुको विश्वास छ ।
साना सबारीमा यात्रा गर्ने यात्रुभन्दा मार मोटरसाईकलमा यात्रा गर्ने यात्रुलाई पर्ने गरेको छ । सामान्य पानी पर्दा हिलो र पानी नपर्दा धुलोले समस्या दिने गरेको र सोहि कारण दुर्घटना हुने गरेको मोटरसाईलमा यात्रा गर्ने यात्रुहरु बताउँछन् ।

सांसद र मन्त्री नियमित हिड्छन तर उठदैन प्रदेशसभामा विषय

यि छोटा सडकमार्ग हुँदै अहिले दैनिक बागमाती प्रदेशसभाका मन्त्री, सांसद तथा उच्चपदस्थ कर्मचारीहरु यात्रा गरिरहेका हुन्छन् । राष्ट्रिय झण्डा सहितको मन्त्रीहरुले नियमित यात्रा गर्ने यि सडक मार्गको जर्जर अवस्थाबारे उनिहरु जानकार छन् । तर बागमती प्रदेशसभामा यो विषयले प्राथमिकता पाउँने गरेको छैन् । बागमती प्रदेशसभाको बैठकमा विषय प्रवेश नगराउँने प्रदेशसभा सदस्यदेखि मन्त्रीहरुले बैठक सकेपछि भने चियागफमा यो विषयलाई चर्को उठाउने गरेको देखिन्छ । सांसदहरुले पटक–पटक प्रदेशसभा बैठकमा सडकको कारण हेटौँडा आउँजाउँमा समस्या हुने गरेको भन्दै आएका छन् तर सडक मर्मत समयमा गर्नुपर्ने, स्तरोन्नतीको लागि आवश्यक बजेट प्रवन्ध गर्नुपर्ने विषयमा भने मौन बस्ने गरेका छन् ।