हेटौंडा । मकवानपुरमा आफै चढेको बसको ठक्करबाट घाइते भएकी एक वृद्धाको मृत्यु भएको छ ।

शनिबार साँझ चखेल मातातिर्थ सडक खण्ड अन्तर्गत मकवानपुर ईन्द्रसरोबर-५ कुवामा काठमाडौंबाट चखेल तर्फ आउँदै गरेको बा२ख ७२७२ नम्बरको बसको ठक्करबाट ७० वर्षीया कान्छीमाया घलानको मृत्यु भएको हो ।

सोही बसमा यात्रा गरी आएकी उनी बसबाट झर्ने क्रममा बस गुड्दा लडेर बसमा ठोक्किँदा घाइते भएकी थिइन् । शरीरको विभिन्न भागमा चोट लागेको उनको उपचारको क्रममा काठमाडौंको बिएण्डबी अस्पतालमा गएराति मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ ।

बस र बस चालक २६ वर्षीय राजकुमार दोङलाई प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।