काठमाडौं । जियोल्याण्ड ट्राभल्स एण्ड टुर प्रालिको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले थप एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पर्वत घर भएका मस्याङ्दी ट्राभल्सका सञ्चालक ४७ वर्षीय हरिप्रसाद सुवेदी रहेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का सहायक प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए ।

उनले भने, ‘जियोल्याण्ड ट्राभल्सको युजर आइडी ह्याक गरेर दुई वटा एयरलाइन्सको टिकट चोरी गरेको घटनामा सुवेदीलाई पक्राउ गरिएको छ । उनीविरुद्ध ठगी, आपराधिक विश्वासघात तथा आपराधिक लाभ लिन नहुने कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको छ ।’