काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज मंगलबार सुदूरपश्चिम जाँदैछन् ।

पार्टीले मंसिर १४ गतेबाट सुरु गर्न लागेको मध्य पहाडी लोक मार्ग पदयात्राकोको उद्घाटनको लागि अध्यक्ष ओली आज कैलाली जान लागेका हुन् ।

एमाले नेता एवं कञ्चनपुरका सांसद तारा लामाका अनुसार उनी आज अपरान्ह ४ बजे कैलालीको धनगढी जाने छन् ।

अध्यक्ष ओलीसँगै वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष विष्णु पौडेल लगायतका नेताहरू कैलाली जान लागेका हुन् । महासचिव शंकर पोखरेल लगायतका नेताहरू भने भोलि कैलाली पुग्ने लामाले जानकारी दिए ।

भोलि बिहान धनगढीबाट बैतडी जाने कार्यक्रम रहेको एमाले केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज छविलाल विश्वकर्माले जानकारी दिए । एमालेले १४ गते बिहान बैतडीको झुलाघाट बाट मध्य पहाडी लोक मार्ग यात्राको उद्घाटन गर्नेछ। झुलाघाट–चिवाभञ्ज्याङ यात्रा तीन सातामा टुङ्ग्याउने एमाले नेताहरूले तयारी गरिरहेका छन् ।