काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई जना कार्यकर्ता पक्राउ परेका छन् । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाललाई सामाजिक सञ्जालमामार्फत बदनाम गराउन खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय चितवनले मंगलवार साँझ उपेन्द्र देवकोटा र शिव शर्मालाई नियन्त्रणमा लिएको हो ।

महानगर प्रमुख दाहाल र पत्रकार सन्तोष देउजाको फोटो सामाजिक सञ्जालमा राखेर बदनाम गराउन खोजेको आरोपमा मौखिक उजुरी परेपछि उनीहरुलाई पक्राउ गरिएको चितवनका प्रहरी प्रवक्ता एवम् डिएसपी विजयराज पण्डितले जानकारी दिए ।

शर्माले महानगर प्रमुख दाहाल र पत्रकार देउजाको तस्बिर तोडमोड गरी सामाजिक सञ्जाल मार्फत बदनाम गरेका थिए भने देवकोटाले सोही पोष्टलाई सेयर गरेका थिए । शर्माले दाहाल र देउजाको फोटो राखेर रास्वपाका सभापति रवि लामिछानेको खेदो खनेको भन्दै पत्रकार देउजालाई धम्कि समेत दिएका थिए । यस विषयमा थप अनुसन्धान भइरहेको डिएसपी पण्डितले जानकारी दिए ।