

काठमाडौं । नेपालमा सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध दायर भएका रिट निवेदनहरुमाथि आजबाट प्रारम्भिक सुनुवाइ हुँदैछ ।
टिकटक प्रतिबन्ध गर्ने सरकारको निर्णयविरुद्ध परेका रिटमा सुनुवाईका लागि आज सर्वोच्च अदालतका न्यायाधीश विनोद शर्माको एकल इजलासमा पेसी तोकिएको हो । टिकटक प्रतिबन्धविरुद्ध सर्वोच्चमा १० वटा रिट दर्ता भएका छन् ।
सोमबार न्यायाधीश डा. कुमार चुडालको एकल इजलासमा पेसी ताेकिएपनि इजलास बस्नै नसकेपछि ती रिट ‘हेर्न नभ्याइने’मा परेका थिए । साे रिटमाथि आजबाट सुनवाइ हुन लागेकाे हाे ।
सरकारले सार्वजनिक शिष्टाचारविरुद्धका सामाग्री टिकटकले नहटाएको र प्रयोगकर्ताको विवरण सरोकारवालालाई उपलब्ध नगराएको भन्दै नेपालमा टिकटकमाथि प्रतिबन्ध लगाएको थियो ।
टिकटक बन्द गर्ने सरकारको निर्णयले संविधानको धारा १७ को उपधारा (२) को (क) ले सुनिश्चित गरेको विचार तथा अभिव्यक्ति स्वतन्त्रतासम्बन्धी हकको उल्लंघन भएको रिटमा उल्लेख गरिएको छ ।
वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ताहरु अनन्तराज लुइटेल, डा.सुनिल रञ्जन सिंह, , प्रेमराज सिलवाल, यज्ञमणि न्यौपाने, तथा फर्सुराम पाण्डे लगायतले सर्वोच्चमा रिट दायर गरेका थिए । उनीहरूले सरकारको उक्त निर्णय बदर गर्न अन्तरिम आदेश माग गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस्