काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्रका विरुद्ध उठाइएका औँलो तल झारिदिने बताएका छन् ।

आज एमाले केन्द्रीय कार्यलय च्यासलमा पार्टीको जनसंगठन समन्वय संयन्त्रद्वारा आयोजित विशेष भेलालाई सम्बोधन गर्दै उनले मंसिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहने बताए । ओलीले ७ गते शान्तिपूर्ण रूपमा सरकारलाई शक्ति देखाउने पनि बताए ।

उनले एमालेविरुद्ध अनेकन चक्रव्युह खडा गर्न खोजिएको भन्दै आफूहरू द्वापर युगको अभिमन्यु नभएको तर्कसमेत गरे । ‘भगवान कृष्णलाई मार्न पनि अनेकन षड्यन्त्र भएको थियो । अहिले त्यस्तै स्वरुपधारीहरू हामीलाई सिध्याउन आउन सक्छन् । त्यस्ताहरूलाई हामी पराजित गर्न सक्नुपर्छ । हामी महाभारतको अभिमन्यु होइनौं । जो चक्रव्युहमा जान त सक्छन्, तर निस्किन सक्दैनन् । हामी आजको अभिमन्यु हौं, हामीलाई चक्रव्युह तोड्न आउँछ’ उनले भने ।

अध्यक्ष ओलीले सरकारलाई पनि चेतावनी दिँदै जनतासँग वैरवभाव नराख्न चेतावनी दिए । ओलीले मंसिर ७ गते युवा विद्यार्थीले गर्ने प्रदर्शनमा पार्टीको साथ समर्थन रहेको बताए । उनले सो दिन सरकार र दक्षिणपन्थी शक्तिहरूलाई थोरै सङ्केत मात्र गर्ने बताउँदै शान्तिपूर्ण राजनीतिको रूपमा राजनीतिक प्रदर्शन गरिने बताए ।

‘हामीले यातना सहेर, अङ्गभङ्ग भएर, जेलनेल सहेर ल्याएको लोकतन्त्र हो यो । बेघरबार भएर, बेहालका अनेक स्थितिहरू झेलेर ल्याएको हो, त्यस कारण लोकतान्त्रिक गणतन्त्रलाई चलाउने र औँलो ठड्याउने काम कतैबाट नहोस् भनेर म चेतावनीको भाषामा भन्न चाहन्छु । लोकतन्त्रको विरुद्ध लड्ने कुरा त छोड्दिऊँ, लोकतन्त्रको विरुद्ध औँलो ठड्यायो भने त्यो औँलो कसरी तल झार्नुपर्छ शान्तिपूर्ण तरिकाले हामी तल झार्दिन्छौँ ।’ उनको भनाई थियो ।

युवा विद्यार्थी अगाडि रहेर गरिने सो प्रदर्शनमा निषेधाज्ञा भने नतोड्ने उनले बताए । सरकारले रुट तोकेमा सोही रुटमा प्रदर्शन गर्न पनि उनले कार्यकर्ताहरूलाई निर्देशन दिए । उनले उक्त कार्यक्तममा पुगेसम्म रातो टोपी लगाउन, सबैलाई झन्डा बोकेर प्रदर्शन गर्न निर्देशन दिए ।

यसैगरी अध्यक्ष ओलीले राष्ट्रपति  रामचन्द्र पौडेल जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा कांग्रेसको प्रतिनिधि भएर गएको बताए । उनले राष्ट्रपति निष्पक्ष हुन नसकेको र जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा पनि कांग्रेसकै प्रतिनिधि भएर गएको बताए ।

त्यस्तै उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि माओवादीको प्रतिनिधि भएर जाजरकोट गएको बताए । अध्यक्ष ओलीले एक वर्ष नपुग्दै राष्ट्रपतिले अलोकतान्त्रिक पक्षधरता भेद्भावपूर्ण व्यवहार देखाएको र संविधान सिध्याउनेतर्फ लागेको उल्लेख गरे ।

अध्यक्ष ओलीले भने, ‘संविधानको मतलब छैन सुरुदेखि नै । संविधानअनुसार सरकार र देश चल्नुपर्ने र संविधानअनुसार राष्ट्रपति चल्नुपर्नेमा संविधान सिध्याउनेतर्फ लाग्नुभएको छ ।’ उनले लोकतान्त्रीक प्रणालीमा अधिनायकवाद व्यवहार स्वीकार्य नहुने स्पष्ट पारे । वर्तमान सरकारलाई मुलुकको विकास तर्फ कुनै ध्यान नरहेको समेत अध्यक्ष ओलीको भनाइ थियो ।