काठमाडौं । फिफा विश्वकप २०२६ को दोस्रो चरण र एएफसी एसिया कप छनोटका लागि आज नेपालले यूएईको सामना गर्दैछ । खेल यूएईको घरेलु मैदानमा राति साढे ९ बजे सुरु हुनेछ । फिफा वरियतामा यूएई ६९ र नेपाल १ सय ७३ औं स्थानमा छ ।

युवा खेलाडीको बाहुल्यता रहेको नेपाली टोली आजको खेलमा उत्कृष्ट सुरुवात गर्न चाहन्छ । यसअघि विश्वकप छनोट खेलेको टोलीबाट आजको खेलमा तीन खेलाडी मात्र छन् ।

नेपाली टोलीका गोलरक्षक तथा कप्तान किरण कुमार लिम्बु, डिफेन्डर रोहित चन्द र फरवार्ड अञ्जन विष्ट यूएईविरुद्धको खेलमा छन्। टोलीका अर्का डिफेन्डर अनन्त तामाङ भने प्रशिक्षणमा घाइते भएपछि यूएईविरुद्धको टोलीबाट बाहिर छन्। आजको खेलमा उनको अभाव खड्किन सक्ने छ ।

विश्वकप छनोटको पहिलो चरणको दोस्रो लेगमा लाओसलाई पराजित गर्दै नेपालले दोस्रो चरणमा स्थान पक्का गरेको थियो । नेपाल रहेको समूह एचमा यूएईसँगै बहराइन र यमन छन् । होम एण्ड अवेका आधारमा हुने खेलमा नेपालले सबै टोलीसँग समान २ खेल खेल्नेछ ।