काठमाडौं । नेपाल टेलिकमको देशभरका जिल्लालाई नमुना दूरसञ्चारयुक्त जिल्ला बनाउने अभियान अन्तर्गत पहिलो चरणमा १९ जिल्लामा नमुना सेवा उपलब्ध गराउने भएको छ ।

नेपाल टेलिकमले चालु आर्थिक वर्षको कार्यक्रममा नमुना जिल्ला कार्यक्रम तय गरेको थियो । जसअनुसार शुक्रबार टेलिकमले नमुना सेवा दिने जिल्लाको सूची सार्वजनिक गरेको हो । प्रदेश राजधानी रहेका जिल्लासहित हरेक प्रदेशबाट कम्तीमा दुई जिल्ला समेटिने गरी नमुना जिल्ला कायम गर्ने घोषणा नेपाल टेलिकमले गरेको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुमपश्चिमसहित खोटाङ, मोरङ, उदयपुर, धनुषा, रौतहट, मकवानपुर, सिन्धुली, कास्की, गोरखा, दाङ, गुल्मी, सुर्खेत, जुम्ला, कैलाली, बाजुरा, बर्दिया र रोल्पा रहेका छन् ।

टेलिकमले अत्याधुनिक प्रविधिको प्रयोग गरेर निरन्तर गुणस्तरीय सेवा मागबमोजिम उपलब्ध गराई नमुना जिल्ला कायम गर्न थालेको टेलिकमले जनाएको छ । प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा ती जिल्लाका सबै बस्ती, राजमार्ग, पर्यटकीय तथा धार्मिकस्थलमा गुणस्तरीय दूरसञ्चार सेवा प्राविधिकरुपमा सम्भव भएसम्म उपलब्ध गराउने उल्लेख छ ।

हाल सेवाका दृष्टिबाट नमूनाको रुपमा कायम गरिने जिल्लामा आवश्यकता बमोजिम तत्काल थप पूर्वाधार तथा उपकरण विस्तार स्ट्यान्डर्ड सेट्स तथा सेवाहरू कायम हुनेगरी नेटवर्क स्थापित गरिने टेलिकमले जनाएको छ । यी जिल्लामा निरन्तर गुणस्तरीय सेवा उपलब्धताका लागि प्राविधिक तथा भौगोलिक दृष्टिकोणले सम्भव भएसम्म नवीन प्रविधि र नेटवर्क पूर्वाधार तय गरिने विज्ञप्तिमा उल्लेख छ ।

जिल्लामा औसत ९० प्रतिशतभन्दा बढी मानववस्तीमा गुणस्तरीय मोबाइलका साथै एनटी फाइबर सेवा उपलब्ध गराइने पनि टेलिकमले जनाएको छ । सबैतिर तोकिएकै गुणस्तर र गतिमा सेवाको उपलब्धता कायम गर्न अतिरिक्त योजनासमेत बनाएर आवश्यक दक्ष जनशक्तिको उपलब्धता पनि निरन्तर हुने टेलिकमले जनाएको छ ।