काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले सुन तस्करी छानबिनका लागि उच्चस्तरीय छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको बताएका छन् ।

आज सोमबार काठमाडौंको भृकुटीमण्डपमा सुरू भएको एमाले बागमती प्रदेश संगठन कमिटीको प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकार सुन तस्करीको छानबिन गर्न नहुने अडानमा रहेको र छानबिन आयोग गठन गर्न ढिलाई गरिरहेको बताएका हुन् ।

उनले छानबिन आयोग गठनमा ढिलाइ नगर्न र आयोगलाई नीतिगत सुधारको सिफारिस गर्ने कार्यक्षेत्रमा सीमित नगर्न सरकारसँग आग्रह गरेका छन् । ओलीले छानविन गर्नका लागि आयोग आवश्यक रहेकाले शक्तिशाली बनाउनुपर्नेमा जोड दिए ।

उनले विद्युतीय चुरोटबाट आएका सुनलगायतका तस्कारीमा सरकारमा बस्नेको नै हात रहेको जिकिर गरेका छन् । ६ वर्ष अघिदेखि नागरिकता दिएर नै तस्कर तयार गरेको तर्क गर्दै अध्यक्ष ओलीले सुन कारोबारमा अरवौंको लगानी गर्ने व्यक्तिलाई पक्राउ गर्नुपर्ने बताए ।