हेटौंडा । भन्सार छली गरी ल्याएको ८ सय ५५ बोतल मदिरासहित हेटौंडाबाट पाँच जना भारतीय नागरिक पक्राउ परेका छन् ।

शुक्रबार र शनिबार चितवनबाट आउँदै गरेको भारतीय डीएल २ सिएके १३९० र डिएल २ सिएके ७२७३ नम्बरको कार चेकजाँच गर्ने क्रममा मदिरासहित पाँच जना भारतीय नागरिक पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।

पक्राउ पर्नेहरूमा भारतको पश्चिम दिल्ली बस्ने २७ वर्षीय बिक्की, २५ वर्षीय राहुल, २८ वर्षीय कुनाल, ३१ वर्षीय नहिम र ३७ वर्षीय राजु रहेका छन् ।

हेटौंडा-१५ रातोमाटे स्थित प्रहरी चेकपोष्ट अगाडि सवारी साधन रोकी चेकजाँच गर्ने क्रममा ग्रिन ह्वस्की ३७५ एमएलको ७ सय १५ बोतल र १८० एमएलको १ सय ४० बोतल गरी ८ सय ५५ बोतल मदिरा बरामद गरिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूलाई बारास्थित राजश्व अनुसन्धान कार्यालय पथलैयामा पठाइएको प्रहरीले जनाएको छ ।