काठमाडौँ– च्याम्पियन्स लिग फुटबलमा साबिक विजेता म्यानचेस्टर सिटीले विजयी शुरूआत गरेको छ।

मंगलबार राति घरेलु मैदान इतिहाद स्टेडियममा रेड स्टार बेलग्रेडलाइ ३–१ ले पराजित गर्‍यो। सिटीका लागि जुलियन अल्भारेजले २ तथा रोड्रीले १ गोल गरे।

समूह ‘जी’को  खेलमा अग्रता भने बुकारीको गोलबाट रेड स्टारले लिएको थियो।

बुकारीले खेलको ४५औँ मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए। तर, दोस्रो हाफमा सिटीले उत्कृष्ट पुनरागमन गरेको हो।

अल्भारेजले ४७औँ र ६०औँ तथा रोड्रीले ७३औँ मिनेटमा गोल गर्दै जित सुनिश्चित गरे।

फ्रेन्च क्लव पेरिस सेन्ट जर्मेन (पीएसजी)ले पनि लिगमा सुखद शुरूआत गरेको छ। समूह ‘एफ’को खेलमा पीएसजीले बोरुसिया डर्टमन्डलाई २–० गोलले हराएको हो।

पीएसजीका लागि केलियन एम्बाप्पे र हाकिमीले गोल गरे।