

हेटौंडा । सरकारले हालै सदनमा पेश गरेको शिक्षा विधेयकविरूद्ध प्रदर्शन गर्न मकवानपुरका शिक्षकहरु केन्द्रीय राजधानी काठमाडौं जाने भएका छन् ।
सोमबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै नेपाल शिक्षक महासंघ मकवानपुरले असोज ३ जिल्लाका विद्यालयहरु बन्द गरेर विधेयक विरुद्ध प्रदर्शन गर्न काठमाडौं जान लागेको जानकारी दिएको हो ।
शिक्षक महासंघ मकवानपुरका अध्यक्ष जिधराज ढकालले महासंघ असोज ३ गते देशका ७७ वटै जिल्लाका विद्यालय बन्द गरी काठमाडौंमा सडक आन्दोलनको तयारीमा रहेको बताए । उनले जिल्लाको १० वटै स्थानीय तहका प्रमुख, वडा, विद्यालय व्यवस्थापन समितिहरुलाई विद्यालय बन्द गराएर शिक्षक आन्दोलनको कार्यक्रमका बारेमा जानकारी गराइसकेको बताए ।
उनले सरकारले शिक्षा विधेयक शिक्षकको हितमा नभएको र विधेयक पुनर्लेखन गर्न जरुरी रहेको बताउँदै सरकारले सार्वजानिक शिक्षा व्यवस्थित नगरी व्यापारीकरण गर्न खोजेको टिप्पणी गरे ।
महासंघले विधेयकमा सुधार गर्नुपर्ने बुँदाहरुको बारेमा सरकारलाई लिखित जानकारी गराएको तर कुनै सुनुवाइ नभएपछि सडक आन्दोलनमा जानुपरेको उनको भनाइ छ ।
महासंघको अगुवाइमा स्थानीय, जिल्ला, प्रदेश र केन्द्रसम्म पहिलो चरणको आन्दोलन गरिसकेको र अब असोज ३ गतेदेखि विद्यालयनै बन्द गरेर सडक आन्दोलन गर्न लागिएको ढकालले बताए ।
सरकारले अहिले सदनमा पेश गरेको शिक्षा ऐनमा १७ वटा बुँदा परिवर्तन गर्नुपर्ने महासंघको माग रहेको उनको भनाइ थियो ।
पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरका अध्यक्ष श्रीराम दाहाल, नेपाल शिक्षक संघ मकवानपुरका अध्यक्ष गणेशप्रसाद हुमागाईं, नेपाल शिक्षक महासंघ केन्द्रीय सदस्य रामकुमार अधिकारी लगायत विभिन्न शिक्षक संघ संगठनमा आवद्ध शिक्षकहरुको सहभागिता रहेको थियो ।
यस्तो छ महासंघको १७ बुँदे माग
प्रतिक्रिया दिनुहोस्