हेटौँडा ।
गाउँपालिकाको विशेष पत्रकार सम्मेलन भनेर बोलाएर मनहरी गाउँपालिकामा पत्रकारलाई बन्धक बनाईएको छ । मनहरीमा ढुंगा गिट्टि बालुवामा भएको अनियमितताबारे प्रकाशन भएको समाचारपछि गाउँपालिकाले शनिबार दिउँसलाई पत्रकार सम्मेलनको आयोजना गरेको थियो ।
गाउँपालिकाले गरेको पत्रकार सम्मेलनमा सहभागि हुन पुगेका पत्रकारलाई गाउँपालिकाले बन्धक बनाएर तर्साउने प्रयास भने असफल भएको छ । क्रसर ब्यवसायी समेत रहेका मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले क्रसर ब्यवसायसँग सम्वन्धित रहेका केहि दर्जन युवालाई बोलाएर पत्रकार सम्मेलनमै पत्रकारहरुलाई मनोवैज्ञानिक त्रास दिने प्रयास गरेका छन् ।

गाउँपालिकाले क्रसर व्यवसायीलाई फाइदा पुग्ने गरी करिब १६ करोड ३६ लाख रुपैँया मिनहा गर्नेगरि राजश्व अपचलन गरेको विषयमा समाचार माध्यममा समाचार प्रकाशन भएपछि हडबडाएका अध्यक्ष कालाखेतीले शनिबार पत्रकारलाई बोलाएर आफ्नो “मसल्स शो” गर्ने प्रयन्त मात्र गरेरनन् पत्रकार सम्मेलनलाई अराजक समूहको भीड हुने स्थान समेत बनाए । पत्रकार सम्मेलनमा पुगेका पत्रकारहरुले असुरक्षा महशुस गर्दै प्रहरीलाई खबर गर्नु पर्ने अवस्थाको समेत सृजना भयो ।
पत्रकार सम्मेलनको लागि हेटौँडाबाट मनहरी पुगेका पत्रकारलाई कालाखेती समूहका केहि अराजक भीडले आक्रमण गर्ने अवस्था भएपछि प्रहरी परिचालन गर्दै पत्रकार सम्मेलनको आयोजना भएको थियो । समाचार लेखेकै भरमा पत्रकारमाथि स्थानीय सरकारले बाहिरियाहरुको प्रयोग गरि आक्रमण गर्नेसम्मको प्रयास भने असफल भएको छ ।

घटनाको नेपाल पत्रकार महासंघ, प्रेस चौतारी नेपाल मकवानपुर, प्रेस सेन्टर नेपाल मकवानपुरले निन्दा गरेको छ ।
गाउँपालिका कालाखेतीले आयोजना गरेको पत्रकार सम्मेलनमा कालाखेती निकट मानिने केहि क्रसर ब्यवसायीहरु तथा अन्य बाहिरि मानिसहरु बोलाएर स्वयम् कालाखेतीले पत्रकारलाई मनोवैज्ञानिक त्रास दिने, बन्धक बनाउनेजस्ता क्रियाकलाप गरेपछि पत्रकार महासंघ लगाएतका अन्य पत्रकारसँग सम्वन्धित संघ सस्थाले भत्र्सना गरेका हुन् ।

पालिका कार्यालयले आयोजना गरेको पत्रकार सम्मेलनमा उपस्थित पत्रकारमाथि भएको व्यवहारप्रति महासंघ मकवानपुरको गम्भीर ध्यानाकर्षण भएको अध्यक्ष मणिराज गौतमले प्रेस विज्ञप्तिमार्फत जनाएका छन् । यस घटनाले पत्रकारलाई त्रसित बनाउँने काम गरेको विज्ञप्तिमा भनिएको छ । ‘स्थानीय सरकारजस्तो जिम्मेवार निकायले पत्रकार सम्मेलनमा पत्रकारहरुलाई निमन्त्रणा गरेर नियन्त्रणमा लिने, बन्धक बनाउने, बाहिरी मान्छेहरुलाई पत्रकार सम्मेलन स्थलमा प्रवेश गर्न लगाएर स्वतन्त्र प्रेसमाथि धावा बोल्नेलगायतका दुव्र्यवहार गर्नुले आममकवानपुरे पत्रकारमा त्रासको अवस्था सिर्जना भएको छ । ’ विज्ञप्तिमा उल्लेख छ ।

आफूहरु असुरक्षित हुँदा समेत पालिकाका जनप्रतिनिधिहरुले पत्रकारलाई सुरक्षा प्रदान गर्न नसक्नु अत्यन्त गैरजिम्मेवार घटना भएको महासंघको ठहर छ । ‘पालिकाले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकार असुरक्षित भएर पत्रकारहरुले नै प्रहरी र प्रशासनसँग सुरक्षा माग्नुपर्ने अवस्था सिर्जना हुनु भन्दा विडम्बना अरु के होला ?’ महासंघले भनेको छ,‘त्यसकारण यस घटनाप्रति पालिकाको तर्फबाट पूर्णप्रेस स्वतन्त्रताको पक्षमा रहेको प्रतिबद्धता तत्काल जाहेर गर्न महासंघ मनहरी गाउँपालिका कार्यालयलाई अनुरोध गर्दछ ।’

गाउँपालिका कार्यालयले आफूहरुलाई निमन्त्रणा गरी उल्टै दुव्र्यवहार गर्ने, मानसिक तनाव दिने र स्वतन्त्र प्रेसमाथि नै धावा बोल्ने काम गरेको जनाउँदै यस कार्यप्रति भत्र्सना गरिएको छ । साथै, स्वतन्त्र प्रेस माथिको जुनसुकै प्रकारका हस्तक्षेपको प्रतिकारमा महासंघ सधै तयार रहेको पनि विज्ञप्तीमार्फत् सरोकारवालालाई जानकारी दिइएको छ ।