काठमाडौं । नेकपा एमालेले दुई वटा संसदीय समितिका सभापतिमा उम्मेदवारी दर्ता गरेको छ ।
आईतबार सिंहदरबारमा एमालेका तर्फबाट सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला तथा सामाजिक मामिला समिति सभापतिमा किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका हुन् ।
पोखरेलको प्रस्तावकमा सत्तारुढ दल नेपाली कांग्रेसका सांसद राजेन्द्र केसी र समर्थकमा एमाले सांसद दामोदर भण्डारी रहेका छन् । त्यस्तै महिला तथा सामाजिक समिति सभापतिका लागि एमाले सांसद किरणकुमार शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनको प्रस्तावकमा कांग्रेस सांसद शान्ति बिक रहेका छन् भने एमाले सांसद अस्माकुमारी चौधरी समर्थक बनेका छन् ।
संसदीय समिति सभापति चयनका लागि सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच गठबन्धन देखिएको छ ।
समिति सभापतिमा उम्मेदवारी दर्ता गरेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा सार्वजनिक लेखा समितिको सभापतिका उम्मेदवार ऋषिकेश पोखरेलले सार्वजनिक लेखा समितिले सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई सहयोग, सुझाव र उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह दिने काम रहेको बताए ।
उनले भने, ‘संसदमा हमी यसलाई मिनि पाल्र्यामेण्ट भन्छौँ । विशेष गरी सार्वजनिक लेखा समिति भनेको सरकारले गरेका खर्चलाई कानूनसम्मत बनाउनका निम्ति सहयोग गर्ने, सुझाव दिने र आर्थिक अनुशासनलाई कायम गराउने पक्षमा सरकारलाई पहिलो कुरा त सहयोग, दोस्रो सुझाव र तेस्रो उठिरहेका विषयवस्तुमा सरकारलाई आवश्यक अन्य सल्लाह र सुझावहरु दिने काम गर्छ । संसदले दिएको निर्देशन, सल्लाह, सुझाव सरकारको कार्यान्वयन गर्ने कर्तव्य हो । समितिले दिएको सल्लाहलाई सरकारले मान्नुपर्छ ।’
उनले समितिले दिएका निर्देशन मान्नु सरकारको कर्तव्य भएको बताए । समितिको नेतृत्वका लागि सोमबार निर्वाचन हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्