

काठमाडौं । सुन तस्करी प्रकरणमा संलग्न रहेको आरोपमा थप दुई जना चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धानका क्रममा गएराति दुई जनालाई काठमाडौंबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुको प्रहरीले नाम खुलाएको छैन । यसबारे थप अनुसन्धानकै क्रममा रहेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले जानकारी दिए । योसँगै सुन तस्करी प्रकरणमा हालसम्म पक्राउ पर्नेको संख्या २३ पुगेको छ ।
राजश्व अनुसन्धान विभागले गत साउन ३ मा भन्सार जाँचपासबाट बाहिरिएको सुनसहितको एक सय ५५ किलो ‘ब्रेक सु’ बरामद गरेको थियो । चिनियाँ तस्करले हङकङबाट भित्र्याएको ब्रेक शुबाट बरामद गरिएको सुन मंगलबार गालिएपछिको तौल ६० किलो ७ सय १६ ग्राम छ ।
प्रतिक्रिया दिनुहोस्