संखुवासभा । सङखुवासभास्थित जिल्ला कारागारभित्र दुई कैदीको हत्या प्रकरणमा छानबिन गर्न गठित समितिले उक्त घटनामा प्रहरी र केही कैदीको संलग्नता देखिएको जनाएको छ ।
छानबिन समितिका संयोजक तथा कारागार व्यवस्थापन विभागका निर्देशक कमलप्रसाद पाण्डेले जानकारी दिएका हुन् । यही साउन २४ गते बिहान भएको सो घटनापछि गृहमन्त्रालयअन्तर्गत कारागार विभागका निर्देशक पाण्डेको नेतृत्वमा बनेको पाँच सदस्यीय अनुसन्धान टोली बनेको थियो ।
टोली गत शुक्रबार सङ्खुवासभा आएको थियो । कारागारमा रहेका ‘सिसिटिभी फुटेज’को अध्ययन गर्दा घटनामा प्रहरी र चौकीदारसहित केही कैदीको संलग्नता देखिएको उनले बताए । कुटपिटमा कारागारको सुरक्षामा खटिएका केही प्रहरी र सात कैदीकोसमेत प्रत्यक्ष संलग्नता देखिएको पाण्डेले बताए ।
अनुसन्धानपछि केन्द्रीय छानबिन समितीले भोली (शुक्रबार) उक्त घटनाको प्रतिवेदन गृहमन्त्रलायमा बुझाउने तयारी गरेको छ । घटनामा कारागार सुरक्षा इन्चार्ज प्रहरी सहायक निरीक्षक लक्ष्मी चौधरीसहित केही प्रहरी र सात कैदीको संलग्नता देखिएको छ । मृत्यु प्रकरणमा मुछिएका इन्चार्ज चौधरीसहित सबैमाथि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाले जनाएको छ । चौधरीलाई आइतबार पक्राउ गरी अनुसन्धान थालिएको थियो ।
चौधरीलाई पाँच दिन म्याद थप गरी अनुसन्धान थालिएको छ भने कारागारका निमित्त प्रमुख राजेन्द्र घिमिरे विरुद्ध जिल्ला अदालत सङ्खुवासभाले पक्राउ अनुमति जारी गरेको छ । प्रहरीले कारागारका निमित्त प्रमुख घिमिरेलाई भने पक्राउ गरिसकेको छैन ।
प्रतिक्रिया दिनुहोस्