हेटौंडा । मकवानपुरको बकैया गाउँपालिका-१ धियाँलमा ढुंगाले थिच्दा एक महिलाको ज्यान गएको छ । मंगलबार बकैया-१ विजयडाँडाकी ५१ वर्षीया रुपामाया लो को ज्यान गएको हो ।

रुपा घरनजिकैको धियाँल डाँडास्थित जंगलमा गाईभैंसी चराउने क्रममा आराम गर्न ढुंगामाथि बसेका थिइन् । बसिरहेको बेला अचानक रुपा बसेकै ढुंगा पल्टिएर थिच्दा उनको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले जनाएको छ ।

रुपमालाई मृत अवस्थामा फेला पारेपछि स्थानीयहरुले अस्थायी प्रहरी पोष्ट धियाँलमा खबर गरेका थिए । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।