हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिकाले पालिकाभित्रका श्रमिक तथा स्वरोजगार व्यक्तिहरूलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने भएको छ ।
आज सामाजिक सुरक्षा कोष र भीमफेदी गाउँपालिकाबीच सम्झौता भएको हो । कोषका कार्यकारी निर्देशक कृष्णप्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
गाउँपालिकाले गाउँसभाबाटै स्वीकृत गरेको कार्यक्रमले आज पूर्णता पाएको अध्यक्ष हिदम लामाले बताए । चालु आर्थिक वर्षमा गाउँपालिकामा बसोबास गर्ने १ सय जना अनौपचारिक तथा स्वरोजगार श्रमिकहरूलाई सो कार्यक्रममा समेटिने अध्यक्ष लामाले बताए । ‘सुरुवात भएको छ । हामी यस वर्ष १०० जना श्रमिकलाई कोषमा आवद्ध गराउनेछौँ । विस्तारै संख्या बढाउँदै लैजानेछौँ ,’ अध्यक्ष लामा भन्छन् ।
सुरुवाती अवस्थामा घरेलु, कृषि क्षेत्रमा काम गर्ने श्रमिक, निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिक लगायतलाई आवद्ध गराउने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले बताए ।
प्रतिक्रिया दिनुहोस्