हेटौंडा । मकवानपुरको भीमफेदी स्थित प्रहरी चौकी भैंसेमा कार्यरत एक प्रहरी जवानको मृत्यु भएको छ । मृत्यु हुनेमा जाजरकोट घर भएका २२ वर्षीय कृतिबहादुर नेपाली रहेका छन् ।

उनको गएराति हेटौंडाबाट कार्यलय तर्फ आउँदै गर्दा भीमफेदी-१ स्थित बुलबुलेमा पहिरोको ढुंगाले लागेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।

कार्यालयका अनुसार गएराति ८ः३५ बजेको समयमा ड्युटीमा रहेका उनी चिप्लिएर लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि मोटरसाइकलमा राखेर हेटौंडा पठाइएको र उपचार गरेर फर्कने क्रममा बाटोमा माथिबाट खसेको पहिरोको ढुंगाले टाउकोमा गम्भीर चोट लागेको प्रहरीले जनाएको छ ।

ढुंगाले लागेर गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ ।