काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले कलम चिन्हमा भोट नहाल्ने नेता कार्यकर्तालाई कारबाही गन चेतावनी दिएका छन् । शनिबार रौतहट काठमाडौं सम्पर्क मञ्चले गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीको कार्यकर्ता बनेर अर्के पार्टीको चुनाव चिन्हमा भोट हाल्नेलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।

‘एकीकृत समाजवादीको नेता कार्यकर्ता बन्ने तर अर्के पार्टीको चुनाव चिन्हमा भोट हाल्नेलाई कारबाही हुन्छ’, अध्यक्ष नेपालले भने, ‘मैले केही सुनेको छु र तथ्यहरु पनि संकलन भइरहेका छन्, पार्टीलाई धोका दिएको प्रमाणित भए अप्ठेरो पर्ला । समयमै आत्मसमीक्षा गर्नुहोस् ।’

उनले गएको चुनावमा समाजवादीका केही नेता र कार्यकर्ताले फरक पार्टीका उम्मेदवारलाई सहयोग गरेको सूचना पार्टी मुख्यालयमा आएको र प्रत्यक्षमा कलम चिन्हमा मतदान गरे पनि समानुपातिकमा अर्कै पार्टीलाई भोट दिएको सूचना आएको उल्लेख गरे । उनले कतिपय पार्टीका केन्द्रीय समिति र विभागमा भएका जिम्मेवार नेताहरु पनि भोट हाल्न नगुगेको र ति नेता र कार्यकर्ताको लगत संकलन पार्टीले गरिरहेको बताए ।

उनले पार्टीलाई क्रान्तिकारी भावनामा बढाएर नेपाली जनताको आर्थिक, सामाजिक रुपान्तरणमा लाग्ने बताए । उनले समाजवादीलाई समाजको आशावादी पार्टी बनाउन आफूहरु लागेको समेत बताए । अध्यक्ष नेपालले पार्टी निर्माणका लागि दृढ सपना र लक्ष्य बोक्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।