सभामुख अग्निप्रसाद सापकोटाले सरकारले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्ने बताएका छन् ।  सोमवार सिन्धुपाल्चोकको जुगल हिमाल रहेको पर्यटकीय क्षेत्र जुगल गाउँपालिकाको मुख्य–मुख्य पर्यटकीय स्थलहरुको फोटो पुस्तक गन्तव्य जुगल’ सार्वजनिक कार्यक्रममा बोल्दै सभामुख सापकोटाले यस्तो बताएका हुन् । उनले पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिएर पर्यटन क्षेत्रको विकासमा सरकारले ध्यान दिनजरुरी रहेको बताए ।

उनले सिन्धुपाल्चोक जिल्लाको जुगल हिमाल नेपालको एक पर्वतीय उद्योग रहेको बताए । सभामुख सापकोटाले पर्वतीय क्षेत्रको विकास गर्नसके मात्रै देशमा पर्यटनको विकास हुनसक्ने जिकिर गरे । सभामुख सापकोटाले स्थानीय र केन्द्र सरकारले पर्यटन विकासको लागि युवामैत्री नीति बनाउन आवश्यक रहेको पनि बताए ।

उनले राजनीतिक पार्टी तथा विकास निर्माणको योजना बनाउँदायुवाको सहभागिता बढाउन आवश्यक रहेको बताए । सभामुख सापकोटाले पछिल्लो समय राजनीतिक दलका ठूला नेताहरुको क्षणिक स्वास्र्थको लागि मात्रै भाषण गर्ने गरेको दाबी गरे । उनले स्थानीय तहको निर्वाचनपछि स्वतन्त्रको चर्चा भएपनि लोकतन्त्रमा राजनीतिक पार्टीको विकल्पमा स्वतन्त्र हुन नसक्ने बताए । सभामुख सापकोटाले राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र नेतृत्वदायी भूमिका दिनुपर्ने बताए ।

उनले नेताहरुले कार्यनीतिक फाइदाको लागि रणनीतिक बनाएर भाषण गर्ने तर काम पूरा नगर्ने प्रवृति बढेको बताए। उनले भने नेपालमा नेताहरुले बढी भाषण गर्ने चलन रहेको छ । तत्कालिन फाइदाको लागि भाषण गर्ने काम गर्ने प्रवृति छ। खुलस्त भन्नु पर्दा सट्साइटेट कार्यनीति फाइदाको लागि नेताहरुले भाषण गर्ने गरिएको छ । कार्यनीतिको फाइदाको लागि रणनीतिको सम्पूर्ण फाइदा लिने र तत्कालिन स्वास्र्थ लागि लागेको देखिन्छ। काम गरेर देखाउन एक्कसनमा जानुपर्छ। एक दुई तीन गरी काम गर्ने योजनाका रुपमा जानुपर्छ। विकासको काममा युवाहरुको सहभागीता बढाउनुपर्छ ।

युवाहरुले धक्का नदिने हो भने मुलुकमा पर्यटन लगायत अन्य विकास अगाडि बढ्न नसक्दैन। अहिले युवा भन्दा स्वतन्त्र आदि इत्यादिको चर्चा रहेको छ । स्वतन्त्रहरुले पनि आफ्नो ठाउँमा योगदान दिइरहेका छन्। युवाहरुको क्षमता बाहिर ल्याएका छन्। त्यो ठिक छ । तर अहिलेका लागि लोकतन्त्रको विकल्प उन्नत लोकतन्त्र भएकाले पार्टीको विकल्प छैन ।

राजनीतिक पार्टीभित्र युवाहरुलाई प्रोत्साहन गर्ने र पार्टी भित्र युवाहरुले नेतृत्वदायी भएर अगाडि बढ्ने कुरामा ध्यान दिनुपर्छ । स्थानीय तहका सरकारहरुले पनि युवा मैत्री नीति बनाएर जानुपर्छ। केन्द्र सरकारले सबै भन्दा बढी युवा नीति बनाउन जरुरी छ। नेपालका पर्वतीय क्षेत्रहरु राष्ट्रिय उद्योग हो । यस्ता पर्वतीय क्षेत्रलाई राष्ट्रिय उद्योगको मान्यता दिनुपर्छ । सरकारको ध्यान अब पर्वतीय क्षेत्रको विकासमा हुनु पर्छ।’ उनले राजनीतिक पार्टीहरुले युवालाई प्रोत्साहन गर्ने विषयमा ध्यान दिन जरुरी रहेको बताए ।