हेटौंडा । नेकपा एमाले, बागमती प्रदेश कमिटीका उपसचिव महेश बर्तौलाले मकवानपुर बहुमुखी क्याम्पस देशकै लागि नेतृत्व उत्पादन गर्ने पवित्र थलो भएको बताएका छन् ।

अनेरास्ववियु, क्याम्पस कमिटी, मकवानपुर बहुमुखी क्याम्पसले विजयादशमी तथा शुभदिपावलीको अवसरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा बृहत विद्यार्थी भेलामा बोल्दै मकवानपुर क्षेत्र नं २ बाट प्रतिनिधिसभा निर्वाचनमा एमालेबाट आंकाक्षी उम्मेदवार समेत रहेका बर्तौलाले यस्तो बताएका हुन् ।

बर्तौला सोही क्याम्पसका पुर्व विद्यार्थी एवं दुईपटक निर्वाचित स्ववियु सभापति समेत हुन् । मकवानपुर जिल्लाको विद्यार्थी राजनीति हुँदै अनेरास्ववियु केन्द्रीय उपाध्यक्ष समेत भएका बर्तौला एमालेका आशा गरिएका युवा नेताभित्र पर्छन । आज बिहान अनेरास्ववियु, क्याम्पस कमिटीको कार्यक्रममा बोल्दै उनले  मकवानपुर क्याम्पसले देश हाँक्ने थुप्रै नेतृत्व जन्माएको र यसबाट उत्पादित नेतृत्वले सधैभरी देशको पक्षमा गर्व गर्न लायक काम गर्ने बताए ।

यसैगरी, कार्यक्रममा बोल्दै नेकपा एमालेका जिल्ला अध्यक्ष एकलाल श्रेष्ठले मंसिर ४ को निर्वाचनमा नेकपा एमालेको विजयले मात्र युवा विद्यार्थीको हितमा काम गर्न सकिने बताउँदै एमालेका उम्मेदवार जिताउन लाग्न अनुरोध गरे ।

कार्यक्रममा बोल्दै अनेरास्ववियु स्थायी कमिटी सदस्य सन्तोष पौडेलले युवा विद्यार्थीको भावना र समस्या बुझ्ने पार्टी एमाले रहेको र एमालेका उम्मेदवारलाई जिताउनु अपरिहार्य रहेको बताए ।

अनेरास्ववियु, क्याम्पस कमिटिका अध्यक्ष प्रसिद्ध रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सचिव नवीन सिग्देल, अनेरास्ववियु सचिवालय सदस्य किसन घिसिङ, केन्द्रीय सदस्य, आशिष अस्लामि मगर, जिल्ला अध्यक्ष भुवन मैनाली, प्रदेश सदस्य निशा पुडासैनी, क्याम्पस प्रमुख शंकर प्रसाद उपाध्याय, सहायक क्याम्पस प्रमुखहरु यम सिलवाल, राम प्रसाद अधिकारी, रामेश्वर बराल लगाएतको उपस्थिति रहेको थियो ।  कार्यक्रममा लोकप्रिय गायक कमल क्षेत्रीले सांगीतिक प्रस्तुति दिएका थिए भने विद्यार्थीहरुले विभिन्न गीतमा नृत्य गरेका थिए ।