हेटौँडा । निर्वाचन आयोगले हेटौँडा उपमहानगरपालिकाका ९ जना वडाध्यक्षलाई प्रतिब्यक्ति २ लाख ५० हजार दरले जरिवाना गरेको छ । चुनावमा भएको खर्चको विवरण पेश नगरेको भन्दै ९ जना वडाध्यक्षलाई जरिवाना तोकेको हो ।

आयोगले निर्वाचन आयोग ऐन, २०७३ को दफा २५ को उपदफा १ र स्थानीय तह निर्वाचन ऐन, २०७३ को दफा ६४ ९४० अनुसार उम्मेदवारले निर्वाचनको अन्तिम नतिजा सार्वजनिक भएको मितिले ३० दिनभित्र निवार्चन खर्च विबरण पेश गर्नुपर्नेमा नगरेपछि सोधिएको स्पष्टिकरण समेत नदिएपपछि आयोगले जरिवाना गरेको हो ।

आयोगले हेटौंडा उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नंबर १ का वडाअध्यक्ष सविन न्यौपाने, वडा नंबर ३ का ढलकबहादुर थापा, वडा नंबर ६ का विष्णुबहादुर दाहाल, वडा नंबर ७ का दामोदर गौतम, वडा नंबर ८ का रामकृष्ण थापा, वडा नंबर १३ का पेम्बा लामा, वडा नंबर १६ का रामकृष्ण कोइराला, वडा नंबर १७ का उद्धव सत्याल र वडा नंबर १८ का अनिलकुमार बानियाँ लाई जनही २ लाख ५० हजार रुपैँया तिर्न सूचना प्रकाशन गरेको हो ।

निर्वाचन आयोग ऐन २०७३ को दफा २६ को उपदफा (३) मा उपदफा (२) बमोजिम भएको जरिबाना छ महिनासम्म नबुझाउने राजनीतिक दल वा उम्मेदवारलाई आयोगले तत्कालैदेखि लागू हुनेगरी बढीमा छ बर्षसम्म कुनैपनि निर्वाचनमा भाग लिन रोक लगाउन वा उम्मेदवार हुन अयोग्य घोषित गर्न सक्ने छ ।