२०७४ सालको निर्वाचन हुँदा तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्र बीच चमत्कारपुर्ण एकताको प्रयास भयो र चुनाबी तालमेल भयो। ठुला बामपंथी दलहरुको एकताको कुरा हुँदा तमाम कम्युनिस्ट समर्थकहरु उत्साहित भए। कट्टर आलोचक जस्ता देखिएका केपि ओलि र प्रचण्डले घाँटीमा घाँटी जोडेर, एउटै स्वर, एउटैताल गरेको देख्दा नेपालमा मात्रै होइन बिश्व जगत नै चकित भयो। एक्लौटी र अहंकारपुर्ण स्वभावका ओलि, अस्थिर र चालबाजिपुर्ण प्रचण्ड, अनि माधव नेपालको लोभी र असहिष्णु स्वभावले कतै यो एकता कुनै खोँचमा फस्ने पो हो कि भन्ने शंका भने धेरैमा थियो। यो सबै बिर्सेर सुन्दर भविस्यको परिकल्पनामा देश भरिका कम्युनिस्ट चुनाव केन्द्रित भए, खुसी साटासाट गरे, बिगतका तितामिठा बिर्सिएर सक्रिय भए र चुनावमा दुई तिहाइ बहुमत सहित बिजयी पनि भए।
केपी ओलि र प्रचण्ड बीच दुबैजना अध्यक्ष र पालैपालो प्रधानमन्त्री चलाउने सहमति भयो। रास्ट्रपति एमाले पक्षको भागमा, उपरास्ट्रपति माओवादी पक्षको भागमा, सभामुख माओवादीको अनि उपसभामुख एमालेको गरि भागबण्डा मिलाइयो। चुनावी तालमेलको गांठोलाइ बलियो बनाउने अनेक प्रयासहरु गरियो। धेरै हण्डर ठक्कर खाएका, अनुभव बटुलेका, आन्दोलनको राप र तापले खारिएकाहरुको भिडभाडमा सबैको चित्त बुझाउन गाह्रो नै हुन्छ । खाइपाइ आएको सेवा सुबिधा छोड्न पनि गाह्रो नै हुन्छ। यस्तै यस्तै चलिरहँदा पार्टी एकताको प्रयास भयो र नेकपा नामक पार्टी घोषणा भयो।
माओवादी सशस्त्र बिद्रोह चलिरहँदा धेरैले माओवादी नेतृत्वको नेतृत्वशैलीको तारिफ गर्दथे भने एमालेको जस्तो कार्यकर्ता हुनु पर्छ भन्थे। पार्टी एकता झाँगिन नपाउंदै बिस्तारै शंका, अबिश्वास, असहयोग, पेलाइ जस्ता रोगहरु देखिन शुरु भयो । को बरिस्ठ अध्यक्ष ? भन्ने विवाद ओलि र प्रचण्डमा देखिन लाग्यो। आधा आधा समय प्रधानमन्त्री बन्ने सहमतिमा ओलिले आनाकानी गर्न थाले। ओलि र प्रचण्डको चुम्माचाटी माधव नेपाललाई मन परिरहेको थिएन । सुवास नेम्वाङ कहिँ कतै केही जिम्मेवारी नपाएको जस्तो सुनसान मुडमा थिए, इश्वर पोखरेल र शंकर पोखरेल कसरी भावी नेतृत्व र शक्तिमा आउँने भन्ने दाउमा थिए। वामदेव र झलनाथ अब फेरि मौका आउला कि नआउला भन्ने शंकामा थिए। उता माओवादीका दोस्रो र तेस्रो तहका नेताहरु यहि तालमा गए ,भविस्यमा भित्तामै पुगिने पो होकि भन्ने आशंकामा रहे साथै कतै एमालेको पेलाइमा च्यापिनु पर्ने पो हो कि भन्ने चिन्तामा रहिरहे। मुख-मुख बीच एकता भयो, तर मन-मन बिच एकता हुन नसकेको जस्तो महसुस धेरैलाई भइहेको थियो।
बिस्तारै बिस्तारै ओलिसंग प्रचण्ड रुष्ट हुँदै गए र प्रचण्डको माधव नेपालसंग हिमचिम बढ्न थालेपछि ओलि एक्लिंदै गए। ओलिको पेलाइ पार्टी भित्र र सरकारमा रहनेले पनि महसुस गरिरहे। नाकाबन्दीको सामाना गरेर वाहवाही पाएका ओलि हौंसिदै गए, चुच्चे नक्सा, पुर्व पश्चिम रेल, घर घरमा ग्याँसको पाइप लाइन आदि जस्ता लोकप्रिय कार्यक्रम घोषणा गरे, तर धेरैले यस्ता कार्यक्रमलाई हावादारी गफ भने। दैनिक प्रशासन संचालन र पुर्वाधार निर्माणमै चलिरहेको लम्पटवादी बिकासको प्रचलनलाई हटाएर चमत्कारिक र गौरवपुर्ण योजनाको घोषणा गरेका ओलिलाई क्रमशः सहयोग गर्ने भन्दा पनि घोचपेच गर्नेको संख्या बढन थाल्यो। ओलिको ‘सुखी नेपाली, समृद्ध नेपाल’ को अभियान क्रमशः धेरैको खिल्लीको बिषय बन्न थाल्यो। सरकार र पार्टीमा घेरावन्दीमा परेका ओलि अब रक्षात्मक बन्न बाध्य भए।
प्रचण्डले कि अध्यक्ष कि प्रधानमन्त्री चाहियो भन्दै जोडदार रुपमा बोलिरहे। ओलिप्रति प्रचण्ड कठोर बन्दै गएपछि माधव नेपाल हौसिए र धेरै बर्ष अघिदेखिको पार्टी भित्रको अन्तरसंघर्षको नतिजा आफ्नो पक्षमा पार्न यहि मौकामा हान्नु पर्छ भन्ने आशयले प्रचण्डसंग नजिकीए। प्रचण्डलाइ पनि ओलि विरुद्ध वार कि पार को भाषामा बोल्न माधव नेपाल लगायतको साथ जरुरी थियो।
नेताहरुमा बिस्तारै कम्युनिस्ट आन्दोलनलाइ बलियो पार्ने कसम बिर्सेर ब्यक्ति आफू बलियो बन्ने उत्कट चाहना झन झन बढदै गयो। यसैक्रममा केपि पक्षकै ‘दस भाइ’ पाखुरी सुर्केर अगाडि देखा परे। ओलिले झन झन आफू कमजोर भएको महसुस गरेर मैले नि जानेको छु, भन्ने आवेगमा आए । संविधान पल्टाए र संसद विघटन गरे। कम्युनिस्टहरु आफू आफू नै बाझिरहेको देख्दा मज्जा मानिरहेको काँग्रेसको प्रतिपक्षमा खुम्चिनु परेको पीडा सहिसाध्य थिएन । यहि बेला हान्न पाए ठाउँमै पर्न सक्छ भन्ने भावले कांग्रेस पनि जुरमुराउन थाल्यो। संसद विघटन ठिक कि बेठीक भन्ने बहस चल्न थाल्यो। अदालतले संसद विघटन गर्न नमिल्ने ठहर गर्यो । केही समय रस्साकस्सि चलिरह्यो। ओलिले दोस्रोपल्ट फेरि संसद विघटन गरे, तिक्तता झन झन बढ्न थाल्यो। अदालतले बोलाएपछि ओलि इतरका साँसदहरु अदालतमा लाइन लागेर पुगे र हामी संसद विघटनको विपक्षमा छौँ भन्ने सहिछप गरिदिए। सर्वोच्चको परमादेशपछि ओलिको बालुवाटारबाट बहिर्गमन भयो।अनि प्रचण्ड र माधवको बैसाखी टेकेर प्रधानमन्त्रीको रुपमा शेर बहादुर देउवाको उदय भयो। दुई तिहाइ बहुमत पाएको कम्युनिस्टहरु टुक्राटुक्रा भए। नेकपा माओवादी केन्द्र र नयाँ बनेको पार्टी नेकपा समाजवादीले देउवासंग सरकारमा सहकार्य गर्न थाले। ओलि नेतृत्वको एमाले भर्सेस अन्य दलहरूको जुहारी चली रह्यो।
कम्युनिष्ट पार्टी फुटेर कोहि अध्यक्ष बने होलान्, कोहि मन्त्री बने होलान, कसैले कसैको घमण्ड तोडे होलान्, कोहि हारे होलान, कोहि जिते होलान्। समग्रमा कम्युनिस्ट आन्दोलन हारेको छ, धेरै जनताको आशा र अपेक्षामा तुवाँलो लागेको छ। २०७४ मा दुई तिहाइ बहुमत सहित शेर बनेर संसदमा पसेको कम्युनिस्टहरु मिति २०७९/६/१ गते टुक्रा टुक्रा भएर संसदको त्यही ढोकाबाट मुसा जस्तो बनेर बाहिर निस्किएका छन । देशीविदेशी शक्तिकेन्द्रको चालबाजी कति चल्यो त्यो त गुह्य कुरा हो। आम मानिसको बुझाइमा ‘भाइ फुटे गवार लुटे’ भएकै हो। यो अवधीमा वर्गीय मुद्दा ओझेलमा पारेर ब्यक्तिको बिजय वा पराजयको खेल भयो । नेता नेता बिचको विवादको कारण कुनै राष्ट्रिय मुद्दा होइन, कुनै अन्तर्राष्ट्रिय मुद्दा होइन, जनजीविकाको सवाल होइन मात्रै ब्यक्तिगत लुछाचुंडीले कम्युनिस्ट आन्दोलन धरापमा परेको सबै कम्युनिस्टहरुले महसुस गर्नु जरुरी छ। आन्दोलनले हार्दा युग हार्छ र कयौं सपनाहरु तुहिन्छ्न। गठबन्धनरुपी एकता आफू जित्न र राज गर्न मात्रै हो तर सिद्धान्त हारिरहेको महसुस सांच्चैका कम्युनिस्टहरुले बुझ्न जरुरी छ।
प्रतिक्रिया दिनुहोस्