file photo

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (एमाले)मा प्रवेश लहर देखेर अध्यक्ष केपी शर्मा ओली उत्साहित देखिएका छन् । विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्न थालेपछि आगामी निर्वाचनमा विपक्षी दलको गठबन्धन निर्माण गरेर सरकार सञ्चालन गर्नेमा अध्यक्ष ओली ढुक्क छन् ।

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल (जसपा), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)सहितका साना दलबाट नेता विद्रोह गर्दै एमालेमा प्रवेश गरिरहेका छन् ।

एमाले पोलिटब्युरो सदस्य एवं प्रचार विभाग उपप्रमुख विष्णु रिजालले पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर चलेको बताए । जिल्लादेखि केन्द्रीय कार्यालयसम्म दिनहुँ पार्टी प्रवेश कार्यक्रम भइरहेको उनले जानकारी दिए ।

एमालेबाट विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेता एमाले प्रवेश गर्न थालेपछि अध्यक्ष ओलीले ‘आगामी चुनावसम्ममा एकीकृत समाजवादीमा कार्यकर्ता नै नरहने’ ठोकुवा गरेका छन् ।

गत मंगलबार पोखरामा नेपाल लोकतान्त्रिक तमु संघको दोस्रो राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै ओलीले चुनावसम्ममा एकीकृत समाजवादी पार्टी अध्यक्ष माधवकुमार नेपाल कार्यकर्ताविहीन हुने दाबी गरे ।

‘तपाईंहरूलाई यो भविष्यवाणी मिल्दैन कि भन्ने लाग्यो होला, नोट गरेर राख्नुस् । चुनावसम्ममा माधव नेपालसँग आपूmबाहेक कार्यकर्ता नै रहँदैनन्’ ओलीले भने । एकीकृत समाजवादीले ‘थ्रेस होल्ड’समेत पार गर्न नसक्ने दाबी गर्दै उनले थपे, ‘माधव नेपालको पार्टीले थ्रेस होल्ड पार गरेर तीन प्रतिशत ल्याएर संसद्मा पुग्दैन । चुनावमा प्रचण्डको पार्टीले थ्रेस होल्ड कटाएर यसपल्ट राष्ट्रिय पार्टीको इज्जत जोगाउँछ ।’

पार्टी केन्द्रीय कार्यालय च्यासल, ललितपुरमा बिहीबार नेकपा माओवादी नेता–कार्यकर्तालाई एमालेमा प्रवेश गराउँदै ओलीले त्यस्तै ठोकुवा गरे । माओवादी केन्द्रका केन्द्रीय सदस्य एवं चितवन जिल्लाका सह–इन्चार्ज रहेका प्रभावशाली नेता यमबहादुर परियार (इन्द्रजित)सहितका नेता–कार्यकर्तालाई ओलीले अबिरमाला लगाएर पार्टीमा प्रवेश गराए ।

एमाले र माओवादी एकतापछि बनेको नेकपाको चितवन जिल्ला अध्यक्ष बनिसकेका परियार पाँचपटक माओवादी पार्टीको चितवन जिल्ला अध्यक्ष तथा सेक्रेटरी भइसकेका नेता हुन् । उनी एमालेमा प्रवेश गरेसँगै माओवादीका अध्यक्ष प्रचण्डलाई असर पर्ने विश्लेषण भइरहेको छ ।

एमाले स्थायी समिति सदस्य कर्णबहादुर थापाका अनुसार परियारसहित माओवादी जनमुक्ति सेनाका तत्कालीन ब्रिगेड कमान्डर अञ्जन तिमल्सिना, चितवनकै कालिका नगरपालिका कमिटी उपाध्यक्ष दिनेश विक पनि एमाले प्रवेश गरेका छन् ।

माओवादी, एकीकृत समाजवादी, जसपा, लोसपासहितका दलबाट एमालेमा प्रवेश गर्ने नेता संख्या बढी रहेको थापाले बताए । पछिल्लो समय विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नेको संख्या बढ्दै गएको उनको दाबी छ ।

हालै केही समयअघि लोसपा केन्द्रीय सदस्य अजय गुप्ता, हृदयेश त्रिपाठीको तत्कालीन राजनीतिक समूहमा रहेका वृजेश गुप्तासहित दर्जनौं नेता एमालेमा प्रवेश गरिसकेका छन् । वृजेश अहिले पार्टी केन्द्रीय सदस्यसहित लुम्बिनी प्रदेश सह–इन्चार्जको जिम्मेवारीमा एमालेमा रहेका छन् ।

स्रोतका अनुसार लोसपाबाट प्रतिनिधिसभा सदस्य तथा सचेतक रहेका उमाशंकर अरगरियासमेत एमालेमा प्रवेश गर्ने तयारीमा छन् । अरगरियाले समेत आपूm एमालेमा प्रवेश गर्न लागेको स्वीकार गरेका छन् ।

अरगरियालाई पार्टी प्रवेश गराउन एमाले अध्यक्ष ओली आगामी ८ असोजमा अरगरियाको क्षेत्र धनुषा–२ जाने कार्यक्रम तय भइसकेको छ ।

२०७४ को निर्वाचनमा अरगरिया धनुषा–२ बाट तत्कालीन संघीय समाजवादी फोरम उम्मेदवारका रूपमा जितेका थिए । त्यति बेला उनले ३२ हजार ४४ मत पाएका थिए । उनका निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका रामचन्द्र झाले भने १८ हजार ७ सय १५ मत पाएका थिए ।

संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीबीच एकता भएर समाजवादी पार्टी गठन भएको थियो । सो पार्टीले राष्ट्रिय जनता पार्टीसँग एकता गरी जनता समाजवादी पार्टी गठन भएको थियो । जसपा विभाजनका बेलामा भने उनी उपेन्द्र यादव नेतृत्वको पार्टी नलागी महन्थ ठाकुर नेतृत्वको पार्टी लोसपातिर लागेका थिए ।

अरगरियालाई लोसपाबाट पुनः धनुषा–२ बाटै उम्मेदवार बन्न एकल सिफारिसमा परेका थिए । तर, उनी भने एमाले प्रवेश गर्न लागेका हुन् ।

विद्रोह गरी फर्केका एमालेमै
उता, एमालेबाटै विद्रोह गरी गठन भएको एकीकृत समाजवादीका नेतालाई एमालेले पार्टीमा प्रवेश गराइरहेको छ । पुरानो घर अर्थात् एमालेमै फर्किने अभियानकै रूपमा एकीकृत समाजवादीमा रहेका नेता– कार्यकर्तालाई एमाले भित्र्याउने काम भइरहेको छ ।

एकीकृत समाजवादीका तर्फबाट प्रदेशसभा निर्वाचनमा मकवानपुर–१ बाट प्रत्यक्ष उम्मेदवार सिफारिस भएका विशभ अधिकारीले पार्टी परित्याग गरेका छन् । उनले विज्ञप्ति जारी गर्दै ‘नागरिकता विधेयकको पक्षमा लागेको र देशमा वैदेशिक हस्तक्षेप बढेको तर पार्टीले कुनै प्रयत्न नगरेको’ उल्लेख गरेका छन् ।

गत आइतबार एकीकृत समाजवादी केन्द्रीय सदस्य बालकृष्ण चापागाईं एमालेमा फर्केका थिए । उनी पनि लुम्बिनी प्रदेशसभा सदस्यका लागि एकीकृत समाजवादीबाट सिफारिस भएका थिए । चापागाईं सो पार्टीको अर्थ तथा योजना विभाग उपप्रमुख र रूपन्देही जिल्लाको निवर्तमान सह–इन्चार्ज थिए ।

केही दिनअघि एकीकृत समाजवादीका कर्णाली प्रदेश कमिटी सदस्य गणेशबहादुर शाही एमालेमा प्रवेश गरे । डोल्पाका शाहीलाई ओलीले निजी निवास बालकोटमा स्वागत गरे ।

सुदूरपश्चिम प्रदेश अध्यक्ष विक्रम शाहीले गत ९ भदौमा समाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पार्टी छाडेका थिए ।

१५ भदौमा उनी एमालेमा प्रवेश गरे । पार्टी छाड्दै गर्दा उनले लेखे, ‘२०५४ सालमा वामदेवले फुटबाट पनि शक्ति प्राप्त हुन्छ भन्दै पार्टी विभाजन गराए र थुप्रै मान्छेहरू हौसिँदै उनका पछि लागे, गत वर्ष पनि पुनर्गठनका नाममा माधव नेपालको नेतृत्वमा पार्टी विभाजन भयो । त्यसको पछि लाग्नेमा म पनि थिएँ । पार्टी विभाजनले कांग्रेसलगायत पश्चिमा पुँजीवादीलाई नै फाइदा पु¥यायो । त्यसबापत पछुतो र आत्मग्लानि भएको छ ।’

गत १५ भदौमा दुई सांसद नेकपा एमालेमा फिर्ता भएका छन् । फिर्ता हुनेमा कुलवीर चौधरी र तारा लामा तामाङ छन् । कञ्चनपुर पुगेर एमाले अध्यक्ष ओलीले उनीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

यसैगरी, कञ्चनपुरकै वेदकोटगढी नगरपालिकाका पूर्वनगरप्रमुख अशोक चन्द पनि सोही दिन एकीकृत समाजवादी छाडेर एमालेमा फर्किए ।

उता, एक हप्ताअघि एमाले गुल्मीले आयोजना गरेको कार्यक्रममा जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी, जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य गणेश खनालसहित अधिकांश जिल्लास्तरका नेता–कार्यकर्ता एमालेमा फर्किएका हुन् ।

एकीकृत समाजवादी प्रदेश कमिटी सदस्य हिमाल थापा, युवा संघ केन्द्रीय सदस्य तथा पार्टी जिल्ला सचिवालय सदस्य मदन विष्ट, जिल्ला सदस्य तथा मुसिकोट अध्यक्ष मदनदिउ घिमिरे, जिल्ला सदस्य हरि कुँवर, विष्णुप्रसाद भण्डारी, विद्यार्थीका जिल्ला अध्यक्ष निलकण्ठ पाण्डे, पार्टीका छत्रकोट अध्यक्ष यमबहादुर खत्रीसहितको टोली एमालेमै फर्किएका छन् ।

आजको राजधानी दैनिकमा खबर छ ।