एउटा सत्य सबैलाई थाहा छ, जन्मपछि मृत्यु हुन्छ । तर मृत्युपछि के हुन्छ ? यो कसैलाई पनि थाहा छैन । सामान्य व्यक्ति जब शरीर छाड्छन्, पहिला उसको आँखामा गहिरो अँध्यारो छाउँछ । उसले कुनै किसिमको अनुभव गर्न सक्दैन । केही समयसम्म केही आवाज सुन्न सक्छ, दृश्य देख्न सक्छ । र क्रमशः ती सबैकुरा हराउँदै र विलिन हुँदै जान्छ ।

गरुड पुराणमा मृत्युपछि आत्मासँग हुने व्यवहारको व्याख्या गरिएको छ । जसमा आत्माले शरीर छाडेपछि, आत्मालाई लिन यमदुत आउने र कर्मअनुसार स्वर्ग र नर्क लाने उल्लेख छ । बाइबलले मृत्युपछि शरीरसँगै सबैकुरा नष्ट भएर जाने उल्लेख गरेको छ । त्यसमा भनिएको छ, ‘हामी मर्छौ, हाम्रो शरीर माटोमा विलय हुन्छ । शरीरसँगै त्यसभित्र रहेका भावना, कल्पना, चेतना, संवेदना सबै समाप्त हुन्छ । हाम्रो शरीरभित्र कुनै अमर आत्मा हुँदैन ।’

भागवत गीतामा भगवान श्रीकृष्णले भनेका छन्, ‘न यो शरीर तिम्रो हो, न तिमी यस शरीरका हौ । अग्नि, जल, वायु, पृथ्वी र आकास गरी पाँच तत्वले बनेको यो शरीर एकदिन यही पाँच तत्वमा विलिन हुन्छ ।’

यो त शास्त्रको एक उदाहरणमात्र हो, मृत्युपछि भौतिक शरीरको अस्तित्व समाप्त भए पनि अन्य घटक र चेतनाको अस्तित्व बाँकी रहने धेरै धर्म र शास्त्रमा उल्लेख छ । अर्थात मानिस मरे पनि आत्मा नमर्नेमा धेरैले विश्वास गरेका छन् । तर के मानिस मरेपछि उसको आत्मा अर्काे शरीर धारण गरेर कुनै जीव बनेर पुनर्जन्म लिन्छ त ?

धार्मिक मान्यताअनुसार जो व्यक्ति स्मृतिवान र जाग्रत हुन्छ, उसको लागि दोस्रो जन्म कठिनाइ हुन्छ । किनभने प्राकृतिक प्रक्रियाअनुसार दोस्रो जन्म लिनका लागि बेहोस वा स्मृतिहीन अवस्था चाहिन्छ । उनीहरू भूत, प्रेत योनीमा रहन्छन् र केही समयसम्म गर्भको खोजीमा भौतारिन्छन् । तर यी कुरा सबै मान्यता र विश्वासमा मात्र अडेका छन् । मानिस मरेपछि के हुन्छ ? भन्ने कुरा वैज्ञानिक तथ्यका साथ भन्न सकिँदैन ।

from : canadanepal