सेमिनार ,गोष्टि ,सभा सम्मेलन जस्ता सार्वजनिक स्थलमा नारी स्वतन्त्रता ,मुक्ति र अधिकारको ठुलै अलाप जपे पनि  नेपाली समाजको  चेत-मनोवैज्ञानिक पक्ष भानुभक्तको “बधुशिक्षा”मा नै अल्झिएको छ ।यसको पछिल्लो शशक्त प्रमाण हो कलाकार मनोज गजुरेलको बिधुवाको कथा नामक प्रस्तुति , यसले समेटेको कथा बस्तु र सन्देश सम्प्रेषण । मनोज गजुरेल कलाका ब्यापारी हुन् ।ब्यापारेली ग्राहकको मनोभावना बुझ्नु व्यापारको सौन्दर्य पक्ष हो । दिपक राज गिरी र दिपाश्री निरौलाको ‘छक्का पन्जा’ जस्ता नारी स्वाभिमान र अस्मितामाथि भरपुर खेलवाड गरेका चलचित्रलाई बिशेष चलचित्रको सम्मान दिने नेपाली समाजलाई राम्रोसंग चिनेका मनोज गजुरेलले बिधुवा आमाको कथामा आफ्नै आमा ईन्द्रमायाको क्यारिकेचर गरेका छन् । मनोज क्यारिकेचर किंग नै हुन् यसैले उनको प्रस्तुतिमा ईन्द्रमायाको स्वाभाविक झल्को देखिन्छ । तयारी र प्रस्तुतिमा उनले कुनै कमजोरी छोडेका छैंनन् ।  तर आमा जस्तै देखिनु आमा हुनु फिटिक्कै होईन ।

मनोजको गेटअप ,बोलीमा ल्याएको कम्पन र कथाको भावनात्मक पक्षले श्रोताको मन बिथोलिदिन्छ ,आखा रसाउछन र बेलाबेलामा भक्कानो छुट्छ । जम्मा ९ बर्षको उमेरमा बिबाह भएर २९ बर्षको उमेरमा बिधुवा भएकी ७ सन्तानकी ८० बर्षिय  आमा  ईन्द्रमायाको कथा पीडादायी छ ।  तात्कालिन समाजमा   ‘विधवा’ भएर बाँच्न कति कठिन थियो ? उनको प्रस्तुति हेरिरहँदा छर्लङ्ग हुन्थ्यो । यद्दपी ठमठम हिड्न सक्ने ,बोल्न सक्ने अझै भनु जीवन भोगाई र पीडाका स्वरहरुलाई मधुर लोक भाषामा गाउन सक्ने आमाको कथा आमालाई नै भन्न नदिएर किन मनोजले भने ? के मनोज स्थापित गर्न चाहन्छन कि महिलाको पक्षामा बोलिदिने पुरुषले नै हो -अवला नारी  बोल्नै सक्दैनन् । बिधुवा आमाको कथा मार्फत मनोजले थापनाकै भए पनि श्रीमान त चाहिन्छ भन्ने संदेश दिएर उनि संग सम्बन्ध बिच्छेद गरेकी पुर्व श्रीमती मिना ढकाललाई पश्चातापको पाठ सिकाउन खोज्दै छन् कि नयाँ श्रीमती मन्जु पोख्रेल माथि मानसिक दवाब बढाउन खोज्दैछन ?  प्रश्न खडीएका छन । कतिलाई  लाग्दो हो ,एउटा अभिनय कला प्रस्तुतिलाई लिएर कलाकारको पारिवारिक र व्यक्तिगत कुरा उठाउनु जायज होईन भन्ने पनि तर कथाकी पात्र ईन्द्रमाया मनोजकी आफ्नै आमा समेत हुनु भएको हुदा उहाले व्यक्त गर्नु भएको  कथामा छुटेको पारिवारिक आरोह अवरोह नसमेटीएको देख्दा पाठक श्रोताको जिज्ञासाको धड्कन बढ्नु मलाइ स्वाभाविक लाग्छ ।त्यत्रो बिघ्न दुख पिडा सहेर हुर्काएको छोराको २२ बर्षे वैवाहिक सम्बन्ध बिच्छेद हुदा ,नाति नातिनाले आमा कि वाउ मध्य एक रोज्नुपर्दा ति बृदाको मनमा कत्रो खिल गाडिएको थियो होला ।‘थापनामै भए पनि श्रीमान् चाहिन्छ’भनेर बुहारी मिना ढकाललाई सम्झाउन नसकेको व्यथा किन सुनाउन सकिनन् ईन्द्रमायाले । कि ईन्द्रमायालाई कथा सुनाउन दिए मनोज र मीनाको कुरा उप्केला भन्ने डर थियो मनोजमा ? अर्को तर्फ एकल महिला मन्जु पोख्रेल र छोरो मनोज गजुरेलको दोस्रो विवाहलाई पनि किन छुन सकेन इन्द्रमायाको कथाले ? मनोजको व्यक्तिगत र उसको निजि पारिवारिक मामलाललाई एकातर्फ थन्काएर अब कुरो गरौ बिधुवा आमा इन्द्रमायाको कथा मार्फत व्यख्या गरिएको पितृसत्तात्मक सामाजिक चेतको नमिठो वकालत ।

यसो त मनोज गजुरेल एउटा हास्यव्यंग्य कलाकार भएको नाताले एउटा सामान्य हास्यव्यंग्य प्रस्तुति न हो भन्दै उनलाई उम्किने छुट होला तर यसले उठाएका असामान्य भाष्यले गम्भीर प्रश्न उठाएको छ ।थापनाको किन नहोस , जिउदो होस वा स्वर्गबासी होस श्रीमान भनेको श्रीमान नै हो ।महिलाको सर्वस्व नै श्रीमान हो र श्रीमान भन्दा पर अरु केहि छैन भन्ने पितृसत्तात्मक समाजको अघोषित घोषणापत्र मनोजले वाचन गरे । ईन्द्रमाया जस्तै एकल महिला विधादेवी भण्डारीले आखाभरी पिलपिल आशु बनाउदै मनोज पुराणलाई मौन अनुमोदन गरिन । स्वर्गीय मदन भण्डारीले खडा गरेको राजनैतिक विरासतको ब्याज स्वरूप प्राप्त हैसियतको भर्याङ चढेर सर्बोच्चता हासिल गरेकी विधालाई पनि लाग्दो हो यो सबै स्वर्गबाट पति परमेश्वरले बर्षाएको अनुकम्पाको परिणाम हो । यथार्थतामा टाउकोमा जिजिबिशाको भारी बोकेर जीवनरुपी रथ हाकिरहेका एकल महिलाहरुमा मनोज वाचित ईन्द्रमायाको कथाले उर्जा भर्न सकेको छैन ।पिडा कोट्याएर रुवाउनु बाटो देखाउनु होइन । ईन्द्रमायाहरु त्यस्ता जिउदा ईतिहास हुन् जसले आफ्नै बलबुतामा ईतिहास रचे ।समाजले सर्वस्व सकिएको घोषणा गर्दा पनि उनले अलिकति सकिएको र धेरै बाकि रहेको प्रमाणित गरेर देखाईंन ।बिधुवा  ईन्द्रमायाले हिम्मत गरेर भन्न सक्थिन: “छोरी  चेलीहरु हो ! श्रीमान् गुमाउनु भनेको एउटा सामाजिक सम्बन्ध मात्रै गुमाउनु हो ।सर्वस्व गुमाउनु होइन ।हिम्मत गर ।उज्यालो जीवन बाच्न सकिन्छ ।“ तर कलाको नाममा मनोज गजुरेलले आमाको इतिहासको अपव्याख्या गरे र उनकै मुखबाट फुत्किए जसरी प्याच्च भनिदिए ‘थापनाकै किन नहोस एउटा लोग्ने त चाहिन्छ ।‘ श्रीमान् गुमाएको झन्डै पचास वर्ष पछी एउटी बिधुवा आमाको मुखबाट यस्ता वाक्य वकाएर मनोजले स्थापना गर्न खोजेको सत्य के हो ? मिना ढकाललाई सवक सिकाएको हो कि ? मन्जु पोख्रेल माथि दवाब सृजना गरेको ?

प्रिय मनोज ! आमा भनेकी आमा नै हुन । आमाको संघर्ष नजिकैबाट नियालेका तिमीले तिमि बनेरै आमाको पुरुषार्थ व्याख्या गर्न सक्थ्यौ ।  आमाले गरेको दुख र रोपेको सुखको बोटको कथा सुनाउन सक्थ्यौ । तर तिमीमा कलाको भुत चढेको थियो ।  नक्कल गर्ने खुवी तिमीमा अलौकिक नै छ तर आमाको समेत नक्कल गर्ने दुस्शाहस नगरेको भए हुन्थ्यो ।  तिमीलाई लागेको होला ईन्द्रमायाहरु कमजोर छन ,बोल्न सक्दैनन् र उनीहरुको कुरा तिमीले बोलिदिनुपर्छ । त्यसो होइन मनोज ,यथार्थमा ईन्द्रमायाहरु आफ्नो दुख सितिमिति कसैलाई सुनाउदैनन किनकि उनीहरुलाई थाह छ यो समाजमा हजारौ मनोजहरु छन जसले झुक्किएर आमाको कथा सुने भने त्यसैको ब्यापार गर्छन ।यसपटक कलाको नाममा तिमीले आमालाई बेच्यौ त्यो पनि पितृसत्ताको हाट बजारमा ।


एसके निधन