हेटौँडा । मकवानपुर प्रहरीले लागु औषध खैरो हिरोईन (ब्राउन सुगर) सहित हेटौँडाबाट एकजनालाई पक्राउ गरेको छ ।

प्रहरीले हेटौँडा उपमहानगरपालिका वडा नंबर १० न्यरेनीबाट ३ ग्राम ५ सय मिलिग्राम ब्राउन सुगर सहित हेटौँडा ३ का १९ वर्षीय राजेन्द्र कामीलाई पक्राउ गरेको हो । कामीले चुरोटको बट्टा भित्र लुकाएर राखेको अवस्थामा प्रहरीले खोजतलास गर्दा पक्राउ गरेको हो ।

सडकमा हिडेको अवस्थामा प्रहरीलाई देखेपछि शंकास्पद गतिविधि गरेका कामीलाई प्रहरीले नियन्त्रणमा लिएर खानतलास गर्दा पाएन्टको खल्तीमा सेतो प्लास्टिकमा बेरेर चुरोटको बट्टाभित्र ब्राउनसुगर फेला परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता टेकबहादुर कार्कीले बताए । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको प्रहरीको भनाई छ ।