हेटौंडा । बचत कर्ताको रकम माग गरिएको समयमा फिर्ता नगर्ने सहकारी सहकारी बचतकर्ताकै उजुरीपछि पक्राउ परेका छन् ।

मकवानपुरको हेटौंडा– २ स्थित जनचेतना स्वावलम्बन बचत तथा ऋण सहकारी लिमिटेडका संचालक समितका अध्यक्ष धादिङ फुलखर्क घर भई हेटौंडा– ८ बस्ने ४० वर्षीय रामकृष्ण अधिकारी र कोषाध्यक्ष हेटौंडा– ८ का ३२ वर्षीय राजीव तामाङ पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले जानकारी दिए । प्रवक्ता कार्कीले दर्जनौ बचतकर्ताहरुले सहकारीको पासबुक सहित उजुरी दिएको बताउँदै अनुसन्धान कार्य भईरहेको बताए ।

भविष्यमा आइपर्ने आर्थिक समस्यालाई समाधान गर्ने उद्देश्यले सहकारीमा जम्मा गरेको बचत रकम सहकारी संचालक समितिले हिनामिना गरेपछि बचतकर्ता र कर्मचारीहरू तनाबमा परेका थिए । सहकारीको बचत रकम हिनामिना भएपछि बचत गर्ने बचतकर्ता र बचतकर्ताबाट नियमित पैसा सङ्कलन गर्ने कर्मचारीहरू तनाबमा परेका थिए ।

सहकारीमा बचत गर्दै आएका हेटौंडा– १८ की कमला बिडारी,हेटौंडा– २ की बबिता श्रेष्ठलगायतले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा सहकारी संचालकविरुद्ध २४ साउनमा संयुक्त जाहेरी दखास्त दिएका थिए । उनीहरूले आफूहरूको पैसा हिनामिना गरेको र फिर्ता गर्न माग गर्दा नदिएको भन्दै सहकारी सञ्चालक समितका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दिएका थिए ।

बचतकर्ताहरूले उजुरी गरेपछि प्रहरीले सहकारी संचालकलाई झिकाएको थियो । उजुरी परेपछि सहकारी संचालकले बचतकर्ताको रकम फिर्ता गर्ने भन्दै २० साउनमा सटही हुने गरी सहकारीको कर्मचारीहरूको नाममा लाखौँ रकमको चेकसमेत काटेको थियो ।

सहकारीले बचतकर्ताको रकम फिर्ताका लागि मेनुका श्रेष्ठ पाख्रिनको नाममा १५ लाख ४६ हजार ८३२, अनुषा राजवाहक/देविका शर्माको नाममा २५ लाख ७८ हजार ९८०, पावर्ती हमालको नाममा १६ लाख ९५ हजार, सविता स्याङतानको नाममा १० लाख ७१ हजार ४४५ र सुनिलकुमार बाँनियाँको नाममा ११ लाख ८० हजार रुपैयाँको ५ थान चेक काटेको थियो ।

तर गएको २० साउनमा चेक सटही नभएपछि बचतकर्ताहरूले २४ साउनमा सहकारी संचालक समितिका अध्यक्ष अधिकारी र कोषाध्यक्ष तामाङविरुद्ध जाहेरी दरखास्त दिएका थिए । उजुरी परेपछि प्रहरीले मङ्गलबार ३१ साउनमा सहकारीका २ जनालाई पक्राउ गरेको हो । मङ्गलबार पनि सहकारीका १० जना बचतकर्ताहरूले पुनः अध्यक्ष र कोषाध्यक्षविरुद्ध ठगी मुद्दामा जाहेरी दिएका छन् । सहकारीका थप बचतकर्ताहरुले अध्यक्ष र कोषाध्यक्षविरुद्ध आज पनि ठगी मुद्दामा जाहेरी दिने तयारी गरेको बचतकर्ताहरुले जनाएका छन् ।