हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले प्रदेशको राजधानी समेत रहेको हेटौंडा बजार क्षेत्र निकै साँघुरो भएको भन्दै जुनसुकै बेला सडक विस्तारको कदम चाल्नसक्ने बताएका छन् ।

जिल्ला समन्वय समिति मकवानपुरको आठौं जिल्ला सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले अब प्रदेश सरकारले जुनसुकै बेला सडक विस्तारको कदम चाल्न सक्ने बताए । बागमती प्रदेशको राजधानी भएपछि सबारीसाधनको चाप उल्लेख्य रुपमा बढेको बताउँदै मुख्यमन्त्री पाण्डेले हेटौँडा बजार क्षेत्र अचेल काठमाण्डौँको असनको गल्लीजस्तो हुन लागेको दाबी गरे ।

राइट अफ वेको कुरा बारबार उठिरहेको छ । कुनै पनि दिन प्रदेश सरकारले आफ्नो राइट अफ वे क्लियर गर्न सक्छ है भनेर सचेत गराउँछु ।’ मुख्यमन्त्री पाण्डेले भने–‘त्यो बेलामा डोजरले, पुलिसले केहीले पनि रोकिँदैन, काम गरेर छोड्छ सरकारले । त्यसैले तपाईहरुलाई केही गर्नु छ, अल्टरनेट उपाय छ भने गर्नुहोस्, समयले पर्खँदैन ।’
हेटौँडालाई प्रदेशको राजधानी घोषणा गरिएपनि अहिलेसम्म प्रदेश सरकारको प्रधान कार्यालयको भवन शिलान्यास हुन नसकेको भन्दै उनले प्रदेश सरकारले चालु आर्थिक वर्षभित्र प्रदेश सरकारको भवन निर्माणको शिलान्यास गर्ने बचाए । उनले भवन निर्माणको लागि एक अर्ब ६ करोड रुपैँया विनियोजन गरेको बताए ।