हेटौँडा । मकवानपुरको हेटौँडा उपमहानगर क्षेत्रमा विस्तार हुन नसकेको सडक फराकिलो पार्ने तयारी सुरु भएको छ । महेन्द्र राजमार्ग क्षेत्रमा पर्ने ‘हाईवे’ लाई फराकिलो पार्ने विषयमा एसियाली विकास बैंक ९एडिवि०ले चासो दिएपछि हेटौँडा उपमहानगरपालिकाले पनि सडक फराकिलो पार्ने विषयमा आफुहरुले असहयोग नगर्ने, साथ र समन्वय गर्ने प्रतिवद्धता जनाएको छ ।

हेटौँडा उपमहानगरपालिकामा एडिविको उक्त परियोजनाको प्रतिनिधिसहित मेयर, उपमेयर, सम्वन्धित वडाका वडाध्यक्ष, मालपोत र नापी कार्यालयका प्रतिनिधिको बैठकले चाँडोभन्दा चाँडो सडक फराकिलो पार्ने विषयमा सहमति जनाएका छन् ।

हेटौँडामा मुख्यबजार क्षेत्रमा रहेका राजमार्गलाई सर्वोच्च अदालतले भनेअनुसार सडकको विचबाट दुबैतर्फ २५ गज फराकिलो पार्न अब उपहानगरपालिकाले समन्वय र साथ दिने निर्णय भएको उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले बताए । मुआब्जा र क्षतिपूर्ति तथा बजार क्षेत्र ब्यवस्थापनबारे पनि बृहद् छलफल गर्नुपर्ने धारणा पनि बैठकमा आएको उनले बताए ।

लामो समयबाट विवादित बन्दै आएको २५ मिटर विवादलाई अझै लम्वाउँदा हेटौँडाको विकासलाईनै प्रतिकुल असर पर्ने देखिएपछि हेटौँडा उपमहानगरपालिकाले समन्वयमा चासो देखाएको हो । पटक–पटक सडक फराकिलो पार्ने काम सुरु भएपनि विवादबिच कामहरु स्थगित हुँदै आएका थिए ।