हेटौँडा । मकवानपुरको हेटौँडामा कोरा साएैकल र्याली हुने भएको छ । हेटौंडा राइडर्स क्लबको आयोजनामा शनिबार (भोली) कोरा साइकल र्‍यालीको हुने भएको हो । आयोजकले शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन आयोजना गर्दै हेटौंडा कोरा साइकल र्‍यालीको तयारी पूरा भएको जानकारी दिएको छ । क्लब अध्यक्ष विकास ताम्राकारका अनुसार साइकल र्‍यालीमा करिब दुई सयजना सहभागी हुने बताए । विहान ७ बजे हेटौंडा–१० स्थित भुटनदेवी मन्दिरबाट सुरु हुने साइकल र्‍यालीले करिब ५० किलोमिटरको यात्रा पूरा गर्ने उनको भनाई छ ।

हेटौंडाको भुटनदेवी मन्दिर परिसरबाट सुरु भई फरेष्ट्री, हुप्रचौर, पारिजात पथहुँदै कान्तिराज पथ, बुद्ध चोकबाट चौकी टोलहुँदै वन कार्यालय, मनकामना चोक, पिप्ले, फुर्केचौर, गुम्बाडाँडा हुँदै हेटौंडा औद्योगिक क्षेत्र र पुनः कर्रा हुँदै बुद्ध चोकमा पुगेर कार्यक्रम समापन हुने जनाइएको छ । कार्यक्रममा चितवन, बारा, पर्सा जिल्लाका साइकल राइडरहरु गरी करिब २ सय जना सहभागी रहनेछन् । कार्यक्रम सञ्चालनका लागि ३ लाख ७० हजार रुपैयाँ खर्च हुने आयोजकले जनाएको छ ।