हेटौंडा । तत्कालीन बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गरेको बागमती प्रदेशको सुविधा सम्पन्न सभा हल निर्माण कार्य अलपत्र परेको छ। १० मङ्सिर २०७७ मा पौडेलले सभा हलका लागि शिलान्यास गरेको हेटौंडा–२ स्थित उपमहानगरपालिका पछाडिको भवन निर्माणस्थल अहिले घाँसे जङ्गलमा परिणत भएको छ।

तत्कालीन प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गत शहरी विकास तथा भवन कार्यालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको सभा हल निर्माण गर्न ९ कात्तिक २०७७ मा संरक्षण निर्माण जेभी कम्पनीसँग ५ करोड २६ लाख ८३ हजार रुपैयाँमा सम्झौता गरेको थियो।समयसमयमा हुनुपर्ने अनुगमन र निर्देशन नहुँदा १९ वैशाख २०७९ सम्म सम्पन्न भइसक्नुपर्ने उक्त सभा हल निर्माणाधीन अलपत्र अवस्थामा छ।

निर्माण कम्पनीले भवनको जग मात्र खनेर १ करोड ४ लाख २२ हजार रुपैयाँ भुक्तानी लिएको महालेखापरीक्षकको कार्यालयले चौथो वार्षिक प्रतिवेदन, २०७९ मा सार्वजनिक गरेको छ।

‘२०७९ वैशाख १९ गते निर्माणस्थलको स्थलगत अवलोकन गर्दा निर्माण स्थलमा व्यवसायी तथा निजका कामदारहरूको उपस्थिति नदेखिएको र डीपीसी गरी छाडेको भवन निर्माणस्थलमा झारपात उम्रेको अवस्थामा देखियो, जसबाट निर्माण कार्य गर्ने अवधिभित्र कार्य नगरेको कारण म्याद थप माग गरी समयमै कार्य सम्पन्न हुन सक्ने देखिँदैन’, महालेखाले प्रतिवेदनमा भनेको छ, ‘कार्यालय प्रमुख तथा प्राविधिकले सम्झौताको २ वर्ष अवधिमा डीपीसी मात्र बनाउने निर्माण व्यवसायीले पेस गरेको कार्यतालिकाअनुसार कार्य नगरेको यकिन गरी तोकिएबमोजिम कारबाही गर्नुपर्दछ ।’

प्रदेशका मन्त्रालयहरू र उपमहानगरपालिका आफ्नै सभा हल नहुँदा ठूला कार्यक्रमहरू गर्नका लागि विद्यालय, पार्टी प्यालेस, पल्पसा हल, होटल धाउनुपर्ने अवस्था अहिले पनि छ।

तत्कालीन प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाले प्रयोग गर्ने गरी उपमहानगरपालिका कार्यालय पछाडिको खाली जग्गामा सभा हल निर्माण गर्ने र हलको स्वामित्व उपमहानगरको हुने गरी सहमति भएको थियो।

४०० क्षमताको उक्त सभा हल सम्पन्न भएपछि पार्टी प्यालेस जानुपर्ने समस्या हट्ने तत्कालीन हेटौंडा उपमहानगरका प्रमुख हरिबहादुर महतले शिलान्यास कार्यक्रममा बताएका थिए । तर, समयमै सभा हल निर्माण नहुँदा उपमहानगरपालिकाको हालैको नगरसभा पनि पार्टी प्यालेस र होटलमै सम्पन्न भएको छ ।