हेटौंडा । सरकारले आगामी मंसीर ४ गतेलाई प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचन मिति तय गरेको छ । निर्वाचनको मिति तय भएसँगै मकवानपुरको क्षेत्र नंबर १ मा को–को उम्मेद्वार हुने भन्ने चर्चा पनि सुरु भइसकेको छ । दुईवटा प्रतिनिधिसभा क्षेत्र रहेको मकवानपुरको क्षेत्र नंबर १ सबैको चासोको क्षेत्र हुने गरेको छ ।

यो पटक क्षेत्र नंबर १ मा चार जना ‘हेविवेट’को भिडन्त हुने संभावना बढेको छ । २०७४ सालमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमाले र माओवादीको गठवन्धनले कांग्रेस र राप्रपाको गठवन्धनलाई पराजित गरेको क्षेत्रमा यो पटक चारजना उम्मेद्वारबिच प्रतिस्पर्धा हुने देखिएको हो ।

गत निर्वाचनमा एमालेको तर्फबाट कृष्णप्रसाद दाहालले राप्रपाका कमल थापालाई पराजित गरेका थिए । यो पटक पनि यस क्षेत्रमा राप्रपा नेपालका केन्द्रीय अध्यक्ष कमल थापा, नेकपा एमालेका केन्द्रीय सदस्य कृष्णप्रसाद दाहाल, नेपाली कांग्रेसका बागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँ तथा राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिंहबिच प्रतिस्पर्धा हुने देखिएको छ ।

हालको सत्ता गठवन्धन कायम रहेको अवस्थामा माओवादीको समर्थन बानीयाँलाई हुने देखिएको छ भने गठवन्धन नभएको अवस्थामा माओवादीलेको उम्मेद्वार को हुने भन्ने विषयमा अन्योलतानै रहेको छ ।

बहुदल स्थापनापछि प्रतिनिधिसभाको निर्वाचनमा अहिलेसम्म नेकपा एमाले हाबी हुँदै आएको उक्त क्षेत्रमा २०५१ मा राप्रपा, २०६४ को पहिलो संविधानसभामा माओवादी, २०७० को दोश्रो संविधानसभामा नेपाली कांग्रेस विजयी भएका थिए भने पुनः २०७४ मा एमालेले ‘कमब्याक’ गरेको थियो । अर्थात एमाले २०४८, २०५६ तथा २०७४ मा विजयी भएको थियो । एमालेबाट तीनै पटक कृष्णप्रसाद दाहाल विजयी भएका छन् ।