हेटौँडा । प्रतिनिधिसभा निर्वाचनको चर्चा परिचर्चा सुरु भएसँगै मकवानपुरमा कस्ले टिकट पाउने भन्ने चर्चा पनि सुरु भएको छ । पाँच दलीय गठवन्धन कायम गरेर निर्वाचनमा होमिएको अवस्थामा भने मकवानपुरमा नेकपा माओवादी केन्द्र तथा नेकपा एकिकृत समाजवादी पार्टी नेपाली कांग्रेसको चेपुवामा पर्ने देखिन्छ ।
नेपाली कांग्रेस मकवानपुरमा देखिएको दुईजना नेताहरुको शक्ति सन्तुलन मिलाउनको लागि माओवादी र समाजवादीले प्रतिनिधिसभाको निर्वाचनमा हात धुनुपर्ने संभावना बढ्दै गएको छ ।

नेपाली कांग्रेसकी सह–महामन्त्री महालक्ष्मी डिना उपाध्यय तथा वागमती प्रदेश सभापति इन्द्रबहादुर बानीयाँ दुबैजना नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा निर्वाचनमा बलिया प्रत्यासी हुन् । अघिल्लो पटक राप्रपासँगको अलाईन्सको कारण प्रतिनिधिसभा छाडेर प्रदेशसभा सांसद बनेका बानीयाँ यो पटक कुनैपनि हातलमा प्रतिनिधिसभा छाड्ने मुडमा देखिदैनन् । बागमती प्रदेश सभापति जितेपछि भएको स्थानीय तहको निर्वाचनमा पार्टीलाई प्रदेशमा पहिलो बनाउने अविभारा समेत पुरा गरेका बानीयाँले यो पटक मकवानपुरको क्षेत्र नंबर १ लाई रोज्ने उनी निकट नेताको भनाई छ । क्षेत्र नंबर १ बानीयाँको गृह क्षेत्रको साथै उनले दोश्रो संविधानसभामा विजयी हाँसिल गरेको क्षेत्र पनि हो ।

दुईवटा मात्र क्षेत्र रहेको मकवानपुरको क्षेत्र नंबर २ मा पनि कांग्रेसकी नेतृ महालक्ष्मी डिना उपाध्ययको दाबेदारी रहन्छ । उपाध्यय अहिले केन्द्रीय राजनीतिमा समेत पहुँच स्थापित गरिसकेर पदाधिकारीमा समेत विजयी भैसकेकी महिला नेतृ समेत भएकोले उनले सहजै टिकट ल्याउने बताईन्छ । यसो हुँदा माओवादी केन्द्र र समाजवादीको लागि तालमेल गर्नैपर्ने अवस्था आए एक–एक प्रदेशसभा क्षेत्र लिएर चित्त बुझाउनपर्ने वाध्यता आईलाग्ने देखिएको छ ।

माओवादीबाट प्रतिनिसिभाका लागि चर्चामा आएका कुमारी मोक्तान तथा रामनारायण विडारी हुन । तर विडारीलाई पुनः राष्ट्रियसभामा लगेर मोक्तानलाई प्रदेशमानै उठाउनको लागि पहल हुनसक्ने देखिएको छ । सबैभन्दा समस्या भने नेकपा समाजवादीलाई पर्ने देखिन्छ । समाजवादीको तर्फबाट क्षेत्र नंबर २ मा दाबेदार रहेका वर्तमान सांसद बिरोध खतिवडाको ब्यवस्थापन कसरी गर्नेभन्ने हुन्छ । समाजवादीले मकवानपुरको क्षेत्र नंबर २ दाबी त अबश्य गर्ने देखिन्छ तर कांग्रेसले यो पटक सहज ढंगबाट खतिवडालाई छाडने पक्षमा भने छैन् ।

स्थानीय तहको निर्वाचनमा क्षेत्र नंबर २ मा पर्ने स्थानीय तहमा समाजवादीको अवस्था नाजुक बन्यो । मनहरी, राक्सीराङ, कैलाशमा नेपाली कांग्रेस विजयी बन्दा थाहामा माओवादी, इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी रहेको थियो । मकवानपुरगढीमा पनि कांग्रेस विजयी बनेको थियो । यो अंकगणीत देखाएर पनि कांग्रेसले दाबीलाई थप मजवुद बनाउने देखिन्छ ।