हेटौंडा । मकवानपुरको ५ वटा पालिकाले कहि आवश्यकता भन्दा बढि र कतै सेनिटरी प्याड खरिदमा अनियमिता देखाएको छ । आर्थिक वर्ष २०७७/०७८ मा भएका सेनिटरी प्याड खरिदपछि मकवानपुरको पालिकाहरुले विद्यालयमा  वितरण नगरेको औलाएको छ ।

मकवानपुरको बकैया गाउँपालिकाले सेनिटरी प्याड खरिदमा बजार मूल्यभन्दा चार गुणा बढी मूल्यमा खरिद गरेको महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवदेनमा उल्लेख छ । गाउँपालिकामा रहेको विद्यालयमा अध्ययनरत किशोरी तथा कार्यरत महिला शिक्षकले प्रयोग गर्नका लागि खरिद गरेको सेनिटरी प्याड खरिदमा व्यापक अनियमितमा दखिएको छ । सेनिटरी प्याड खरिदमा गाउँपालिकालाई नोक्सान हुनेगरी १२ लाख २१ हजार ६१ रुपैया बढी भुक्तानी दिएको महालेखा परिक्षकको कार्यालयले हालसालै सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ ।

बकैयाँ गाउँपालिकाले बोलपत्र मार्फत खरिद गरेको सेनिटरी प्याड र सोझै खरिद गरेको सेनिटरी प्याड खरिदमा बढी रकम भुक्तानी गरेको महालेखा परिक्षकको कार्यालयले जनाएको छ । बकैयाँका बिद्यालयमा अध्यनरत किशोरी बिद्यार्थी महिनावारी हुँदा प्रयोग गर्ने सेनिटरी प्याड खरिदमा पनि प्रतिप्याकेट २४० रुपैयाँ बढी रकम गाउँपालिकाले भुक्तानी गरेको जनाएको छ ।

साथै खरिद गरेको सामाग्रीको गुणस्तर समेत जाँच नगरिएको प्रतिवेदनमा उल्लेख छ । खरिद गरिएको सेनिटरी प्याड विद्यालय र पालिकाले उचित अभिलेख नराखेको समेत बताएको छ । तर बकैया गाउँपालिकाका स्वास्थ्य संयोजक फटिकरमण प्याकुरेलले सेनिटरी प्याड खरिदमा अनियमिता नभएको बताउछन् । पालिकाले छुट्टाएको बजेटमा सेनिटरी प्याड बोलपत्र मार्फत खरिद गर्दा अन्य दरभाउपत्रदाता भन्दा खरिद गरिएको सप्लायर्सले कम मुल्य दिएको थियो । जसमा संगै खरिद गरिएको मेशिनमा कम मोलभाउ राखिएको तर सेनिटरी प्याडमा भने बजारमुल्य भन्दा बढि मुल्य रहेको देखिएको प्याकुरेलले बताए । उनले भने, ‘पालिकाले खरिदमा कुनै गलत नियत राखेको छैन । हामिले सेनिटरी प्याडको बढि मुल्य रहेको पछि थाहा पायौ, तर समग्र खरिदमा अन्य सप्लायर्स भन्दा कम मुल्य कवोल गरेको भएर खरिद गर्यौ ।’ सोझै खरिद गरेको ११ हजार ६३० सेनिटरी प्याड खरिदमा बजार मुल्य मै खरिद गरिएको उनले प्रष्ट पारे । सेनिटरी प्याड बिद्यालयमा वितरण गरेको विवरण समेत आफुसंग रहेको उनले बताए ।

यस्तै महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवदेनमा भीमफेदी गाउँपालिकाले आ.ब. २०७७/७८ मा संघीय सशर्त चालु शिर्षकवाट ११ लाख ४३ हजार रकमको सेनेटरी प्याड खरिद गरी वितरण नगरेको उल्लेख छ । पालिकाले सेनेटरी प्याड वितरण कार्यक्रमलाई प्राथमिकता दिई विद्यार्थीको स्वास्थ्य र शैक्षिक कृयाकलापमा प्रभावकारी भुमि निर्वाह गर्नुपर्ने प्रतिवदेनले सुझाएको छ । तर भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाका अनुसार खरिद गरिएको सबै सेनिटरी प्याड वितरण भएका छन् । उनले भने, ‘सबै वितरण भएका छन्, विवरण पुग्न बाँकी होला ।’

महालेखापरीक्षकको लेखापरीक्षण प्रतिवदेनमा विद्यालयले छात्रा विद्यार्थी लगत तयार गरी सम्वन्धित स्थानीय तहमा लेखी पठाउने र स्थानीय तहले प्राप्त संख्याको आधारमा एक महिनामा बढीमा प्रति विद्यार्थी १६ वटा सेनेटरी प्याड वितरण गर्ने गरी सम्बन्धित विद्यालयको महिला शिक्षक वा कर्मचारीलाई सम्पर्क व्यक्ति तोकी प्याड वितरण प्रकृया सुचारु गरी सो को भरपाई तयार गरी अर्को महिनाको ७ गते सूचना पार्टिमा विवरण टाँस्नुपर्ने व्यवस्था उल्लेख गरेको छ ।तर कैलास गाउँपालिकाले १० लाख बराबरको सेनिटरी प्याड खरिद गरि विद्यालयलाई वितरण नै नगरेको प्रतिवदेनमा उल्लेख छ । पालिकाले उक्त समयमा कोभिड र विद्यालय बन्द रहने समय परेकाले वितरण गर्न नसकेको गाउँपालिकाका स्वास्थ्य संयोजक जगर्नाथ साहले बताए । साहका अनुसार उक्त प्याड सबै विद्यालयमा वितरण भइसकेको छ ।

त्यस्तै राक्सिराङ्ग गाउँपालिकामा श्री मेडिसिन डिस्ट्रीव्युर्सबाट रु. १० लाख ७९ हजार ७१५ को १४ हजार ७०० पाकेट स्यानीटरी प्याड खरिद गरिएको लेखापरिक्षणमा उल्लेख छ । पालिकामा १ हजार ८२० पाकेट प्याड बाँकी रहेकोमा यस वर्ष सोही प्याकेट वितरण गरिएको र खरिद गरिएका १४ हजार ७०० पाकेट सबै स्टकमा रहेको लेखापरीक्षण प्रतिवदेनमा उल्लेख छ । महालेखापरीक्षकको कार्यालयले मौज्दात रहने गरी खरिद गर्ने कार्यमा नियन्त्रण गरी कार्यबिधि बमोजिम खरिद गरिएका सेनिटरी प्याड सम्बन्धित बिद्यालयहरुले अध्ययनरत छात्राहरुलाई बितरण गरेको नामनामेसी सहितको अभिलेख पेश समेत सुझाएको छ । तर राक्सिराङ्ग गाउँपालिका स्वास्थ्य संयोजक विजय कुमार कापरीले स्टकमा रहेको सेनिटरी प्याडको संख्या धेरै नरहेको तर पालिका भर वितरण गर्न पर्ने संख्या धेरै हुने भएकाले सोहि वर्ष सेनिटरी प्याड खरिद गरिएको बताउछन् । कापरीका अनुसार पालिकाले चालु वर्षबाट वितरित प्याडको विवरण राख्नका लागि समेत विद्यालयहरुलाई अनिवार्य गरेको छ । उनले खरिद भएको प्याड वितरण भइसकेको समेत बताए ।

महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवदेनमा थाहा नगरपालिकाले सेनिटरी प्याड वितरणको प्रतिवेदन राख्नका लागि सुझाएको छ ।


अनिश चौलागाई
anishchaulagain4@gmail.com