काठमाडौं–बौद्ध भिक्षु फुर्वा साङ्मो तामाङले अभिनेत्री मिरुना मगर र फिल्म प्राविधिक पृथ्वीसिंह ठकुरीविरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली बेइज्जती र कुटपिट सम्बन्धी उजुरी दिएका छन् ।

उनले कानुन बमोजिम सजायको माग गरेका छन् । काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालका अनुसार फुर्वाको उजुरीमा अभिनेत्री मिरुनाले माफी माग्नुपर्ने सवालमा पटक–पटक पहल गर्दा पनि बेवास्ता गरेपछि मुद्दा दर्ता गर्न गराएको उल्लेख छ ।

फिल्म प्राविधिक ठकुरीलाई भने मिरुनालाई उक्साउने काम गरेको भन्दै आरोप लगाएका छन् । गत जेठ १५ गते काठमाडौंको सिभिल मलमा फिल्म ‘कबड्डी ४’को प्रचारको समयमा मिरुनाले आफूलाई फुर्वाले दुर्व्यवहार गरेको भन्दै थप्पड हान्दै प्रहरीमा उजुरी दिएकी थिइन् ।

उजुरी अनुसार प्रहरीले फुर्वालाई पक्राउ गरेपछि बौद्ध भिक्षु र बौद्ध समुदाय फिल्मविरुद्ध प्रदर्शनमा उत्रिएको थियो । विरोधपछि फिल्म र बौद्ध समुदायबीच सहमति भए पनि त्यसको एक सातामै मिरुना र फुर्वा पुनः विवादमा उत्रिए ।