file photo

हेटौंडा । मकवानपुरमा पछिल्लो समय कोरोना भाइरस सङ्क्रमण बढ्दै गएको छ । मकवानपुरमा पछिल्लो २ सातादेखि दैनिक ४ देखि ७ जनासम्म कोरोना संक्रमित देखिने गरेका छन् ।

आज(बुधवार) पिसिआर ंर एन्टिजेन परीक्षणबाट ७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमा एन्टिजेन परीक्षणबाट १२ जना मध्य १ जना र २९ जनामा पिसिआर विधिबाट परिक्षण गर्दा ६ जनामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । मंगलबार ३२ जनामा गरिएको परिक्षणमा ४ जनामा कोरोना पुष्टी भएको थियो । त्यस्तै सोमवार २८ जनामा गरिएको परिक्षणमा समेत ४ जनामा कोरोना पुष्टी भएको थियो । स्वास्थ्य कार्यालय मकवानपुरका अनुसार कोरोना संक्रमण भएका २५ जना होम आइसोलेसनमा रहेका छन् ।

मकवानपुरमा हालसम्म कोभिड १९ को पहिलो मात्रा भ्याक्सिन ३ लाख ३७ हजार ९३७ जनाले लगाएका छन् । त्यस्तै ३ लाख २४ हजार ४८६ जनाले मात्र कोभिड १९ विरुद्धको को पूर्ण खोप लगाएका छन् । ७१ हजार ९१ जनाले थप मात्रा खोप लगाएको स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ । कोरोनाबाट मकवानपुरमा हालसम्म १ सय ७१ जनाको मृत्यु भएको छ ।

देशभर पछिल्लो २४ घण्टामा थप ५ सय ६४ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४ सय ५४ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ हजार ७ सय ७८ जनाको पीसीआर र १ हजार ६ सय ७६ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ५ सय ६४ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । बुधबार २ सय २ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने देशभर ३ हजार ९ सय २९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाका कारण १ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।