देशको सत्ता सम्हालेको दल नेपाली कांग्रेस आफैं भने भद्रगोल बन्दै गएको छ । १४औं महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत कांग्रेस नेतृत्व विधानअनुसार अघि बढ्न सकेको छैन । कांग्रेसले गत मंसिरमा नयाँ नेतृत्व चुनेको थियो ।

१४औं महाधिवेशनबाट निर्वाचित बनेका सभापति शेरबहादुर देउवाले पार्टी विधानमा उल्लेख भएअनुसार ६ महिनाभित्र विभाग गठन गर्नुपर्नेमा सो समय नाघ्दासमेत त्यतातर्फ ध्यान दिएका छैनन् । सभापतिले विधान मिचेको भन्दै पार्टीभित्रै उनको आलोचना भएको छ । विभाग खाली भएकाले कैयौं नेताले पार्टीभित्र ‘बिजनेस’ पाउन सकेका छैनन् ।

कांग्रेस विधानको धारा ६० मा ‘पार्टीको सबै तहमा गठन गर्ने भनिएका विभाग-समिति-विभिन्न निकाय महाधिवेशन सम्पन्न भएको ६ महिनाभित्र गठन गरिसक्नुपर्नेछ ।’ भन्ने उल्लेख छ ।

कांग्रेस विधानको धारा ३७ मा २८ विभाग रहने उल्लेख छ । केन्द्रमा रहने ती विभागमा केन्द्रीय कार्यसमितिका सदस्य प्रमुख रहने वैधानिक व्यवस्था छ ।

यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।